नागढुङ्गा सुरुङ मार्गको विवाद सामाधान भएको छ। सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा र चन्द्रागिरी नगरपालिकासँग भएको छलफलपछि काम नरोक्न स्थानीय तयार भएका हुन्।
‘काम नरोक्न हामीसँग मौखिक सहमति भएको छ र नगरपालिकासँग पनि सहमति भएको छ, अहिले काम भइरहेको छ,’ महाशाखा प्रमुख अर्जुनजङ थापाले भने।
स्थानीयमा केही भ्रम सिर्जना भएपछि विरोधमा उत्रिएको उनको आरोप छ। गत पुस ७ गते औपचारिक रुपमा सुरु भएको सुरुङ खन्ने काम पुस २० गते विभिन्न माग राख्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेती नेतृत्वको टोलीले काम रोकेको थियो।
निर्माणका क्रममा भएको क्षतिलाई आयोजनाले तत्काल पुनर्निर्माण गर्नुपर्ने, परापूर्वकालदेखि प्राकृतिक रूपमा संरक्षण गरिएका खानेपानी निःशुल्क उपभोग गर्दै आएकोमा आयोजना निर्माण पश्चात पनि निःशुल्क हुनुपर्ने माग स्थानीयले गरेका थिए।
त्यस्तै उनीहरूले आफूलाई रोजगारी दिनुपर्ने, विशेष प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने र त्यस्तो क्षेत्रमा फुटबल मैदान बनाइदिनुपर्ने, सडक मार्ग निर्माण गरिदिनुपर्ने माग गरेका थिए।
सिँचाइ व्यवस्था हुनुपर्ने तथा सुरूङमार्ग माथिको जग्गाको क्षतिपूर्ति दिनुपर्ने उनीहरूले माग राखेका थिए।
‘उहाँहरुलाई कसैले सुरुङमाथि घर बनाउन नपाउने भनेको रहेछ। जग्गाको मुआब्जा दिनुपर्ने उहाँहरुको माग थियो। त्यहाँ घर बनाउन पाउने हामीले प्रस्ट पर्यौँ र नगरपालिकाले पनि नक्सा पास गरिदिने प्रतिवद्धता जनायो,’ थापाले भने।
त्यस्तै सुरुङले कुनै असर नपार्ने भएकोले प्रभावित क्षेत्र भनेर घोषणा गर्नु नपर्ने थापाले बताए। आयोजना निर्माण गर्दा खानेपानी प्रणालीमा अवरोध हुने अध्ययन क्रममै देखिएको थियो। खानेपानी मात्र होइन, सिँचाइका लागि बनाइएका परम्परागत कुलो तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि चन्द्रागिरि नगरपालिका र आयोजनाबीच यसअघि नै सम्झौता भइसकेको छ।
प्रतिक्रिया