Pura Samachar

नेकपा निकट पत्रकार समूह पनि विभाजित, एउटै नाममा फरक-फरक कार्यक्रम

प्रकाशित: January 18, 2021
पूरा समाचार

नेकपा निकट पत्रकार समूह पनि विभाजित, एउटै नाममा फरक-फरक कार्यक्रम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको परकम्पन पार्टी निकट पत्रकारहरुको संगठनमा पनि देखिएको छ । संसद् विघटनपछि राजनीतिक रुपमा विभाजित भएको नेकपाको पत्रकार संगठन प्रेस संगठन नेपालमा पनि विभाजन आएको छ ।

प्रेस संगठनले एउटै नाममा दुई समूहमा फरक-फरक कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको छ । प्रेस संगठनका संयोजक महेश्‍वर दाहाल समूहले माघ ६ गते मंगलबार कार्यक्रम तय गरेको छ ।

दाहाल समूहले ओली सरकारको प्रतिगमनविरुद्ध सञ्‍चारकर्मीको सामूहिक अभियान भन्‍ने नारासहित मंगलबार बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकल्ने भएको छ । त्यसैगरि साढे ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको छ ।

दाहाल पूर्वमाओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका तत्कालीन अध्यक्षसमेत हुन् । उनी नेतृत्वको समूहले आयोजना गरेको दोस्रो राष्ट्रिय भेलालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

त्यसैगरि पूर्वएमाले निकट पत्रकार संगठन प्रेस चौतारीका तत्कालीन अध्यक्ष गणेश बस्‍नेत अहिले प्रेस संगठनका सहसंयोजक छन् । बस्‍नेत नेतृत्वको समूहले माघ ८ गते बिहीबार बिहान ११ बजे दोस्रो राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

बस्‍नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघको आसन्‍न निर्वाचन र नयाँ राजनीतिक परिस्थितिमा संगठनमा आवद्ध देशभरका सबै सदस्यहरुलाई एकतावद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको हो ।” बस्‍नेत नेतृत्वको समूहले आयोजना गर्ने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटनको घोषणा गरेकी थिइन् । उक्त घोषणापछि नेकपा ओली समूह र प्रचण्ड-नेपाल समूहमा विभाजित भएको छ। तर, यस विभाजनले औपचारिकता भने प्राप्त गरेको छैन ।

दुबै समूहले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै सूर्य चिह्‍न दाबी गरिरहेका छन् । केन्द्रमा पार्टी विभाजन भएसँगै त्यसको असर प्रदेशहरुमा पनि परेको छ । नेकपाका विभिन्‍न भ्रातृ संस्थाहरु पनि विभाजित भएका छन् । यही क्रममा नेकपाको भ्रातृ संस्था प्रेस संगठन पनि दाहाल र बस्‍नेत समूहमा विभाजन भएको छ ।

प्रतिक्रिया