Pura Samachar

बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि

प्रकाशित: January 19, 2021
पूरा समाचार

बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि

डा. डीआर उपाध्याय

यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेर गएको छ । राजनीतिक अस्थिरताको फाइदा मुलुकका केहि ठूला व्यापारीले उठाइरहेका छन् । जनताका दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित रूपमा मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम भएको छ ।
उपभोक्ताको चुलोमा दैनिक प्रयोग हुने चामल ,तेल,दाल ,पिठो अन्डा लगायत निर्माण सामग्रीका वस्तुमा मूल्यदर एकाएक आकासिएको छ । ठूला व्यापारीले सामान लुकाएर हो या बजारमा अभाव भएर हो त्यो कुरा अझै आम उपभोक्ताले बुझ्न सकेका छैनन् । जसले गर्दा दुर्गम क्षेत्रका उपभोक्ताहरु बढी मूल्य तिरेर पनि सामान पाउन सकिरहेका छैनन् । सरोकारवाला सरकारी निकाय र उपभोक्तावादी संघ सस्थाहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा मूल्यवृद्धि हुन गइरहेको देखिन्छ ।
व्यापारीको मनलागी र सरोकारवाला निकाय मुकदर्शक हुनुको परिणाम यसको मूल कारण हो । देशमा जब राजनीतिक अस्थिरता बढ्दै जान्छ तब बजार भाउ ह्वात्तै बढेको देखिन्छ । त्यसको मारमा भने आमउपभोक्ता पर्दछन् । यो महँगी बढ्नु भनेको देशको अस्थिर राजनीतिक अवस्था हो । बजारमा व्यवसायीले आफू खुसी मूल्य तोकेका छन् । यस्तो बेथिति बढ्दा पनि सरकारी निकाय र अन्य उपभोक्तावादी संघ संस्थाको भूमिका खासै प्रभावकारी देखिएन । महँगी बढ्नुको कारण आम उपभोक्ताले जानकारी पाउनुपर्छ । तर, उपभोक्तालाई थाहा नदिइ हरेक वस्तुमा मूल्यवृद्धिको साथै बजारमा सामानको कृत्रिम अभाव सिर्जना गरिएको छ ।
बजारमा हरेक वस्तुको मूल्य अत्यधिक रूपमै बढ्नुको खास कारण भने खुलेको छैन । बजार स्वतन्त्र र प्रतिस्पर्धात्मक नहुनुको कारणले पनि मनपरी भाऊ बढेको हुनसक्छ । व्यापारीले तोकेको मुल्य तिर्न आम उपभोक्ता बाध्य छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग यति बेला मौन छ । उपभोक्ता अधिकारवादी पनि मूल्यवृद्धिविरुद्ध बोलेका छैनन् ।अहिलेको बजार मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिएका छन् भने अर्कोतिर गुणस्तरहीन सामान खरिद गर्न पनि बाध्य छन् ।
अहिले बजार अनियन्त्रित र असामान्य छ । निश्चित दरभाउ कुनै पनि सामानको छैन । बजारमा ठगीधन्दा मौलाउँदै गएको छ । अस्वाभाविक रुपमा बढ्दै गएको मुल्य अनुगमन गरी आम उपभोक्तालाई राहत दिनु पर्छ ।

प्रतिक्रिया