
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संसद् पुनर्स्थापनाको माग गर्दै बुधबारदेखि माइतीघरमा धर्ना दिने भएको छ ।
प्रचण्ड-नेपाल समूहमा रहेका विघटित प्रतिनिधि सभाका सदस्यहरु, राष्ट्रिय सभाका सदस्यहरु र प्रदेश सभाका सदस्यहरु संसद् पुनर्स्थापनाको माग राख्दै माइतीघरमा धर्ना दिन लागेका हुन् ।
गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटित संसद् पुनर्स्थापनाको माग राख्दै सुरु हुन लागेको धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
प्रचण्ड-नेपाल समूहले माघ १२ गते पत्रकार सम्मेलन गरेर तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । तेस्रो चरणको आन्दोलनअन्तर्गत उक्त समूहले मंगलबार काठमाडौंमा सिठी जुलुस प्रदर्शन गरेको थियो ।
तेस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाले माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा गर्ने तयारी गरिरहेको छ । यस्तै माघ २२ गते काठमाडौंमा बृहत युवा र्याली प्रदर्शन र माघ २६ गते देशव्यापी मसाल जुलुस निकालिने प्रचण्ड-नेपाल समूहले जनाएको छ ।
यस्तै माघ १६ गते शान्तिवाटिका जुलुससहित श्रद्धाञ्जली सभा आयोजना गरेर सहिद दिवस मनाउने प्रचण्ड–नेपाल समूहको तयारी छ ।
प्रतिक्रिया