
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले निर्वाचन आयोगमा आफूहरू चुनावमा लागि तयार रहेको बताएका छन्।
शुक्रबार आयोग पदाधिकारीसँगको छलफलमा ओली पक्षीय नेताहरू आफ्नो प्राथमिकतामा निर्वाचन भएकाले आयोगले पनि तयारीलाई तीव्रता दिन भनेका हुन्।
आयोग पदाधिकारीसँग छलफलपछि संवाददाताहरूसँग कुरा गर्दै ओली पक्षीय नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले पनि प्रतिनिधि सभा विघटन मुद्दामा कुनै फैसला नसुनाएकाले आयोगलाई तयारी गर्न समस्या नभएको बताए।
‘अझै ९१-९२ दिन बाँकी छ। यो अवधिमा आयोगले चुनाव गर्न सक्छ। अदालतको आदेश नआएकाले आयोगलाई समस्या छैन भन्ने कुरा राख्यौं,’ उनले भने।
निर्वाचन आयोगले दल दर्ताको तयारीका बारे छलफल गर्न नेकपाका दुबै समूहलाई आज बोलाएको थियो।
प्रचण्ड-नेपाल पक्षीय नेताहरूले भने दुबै अध्यक्षहरू राजधानीबाहिर भएकाले छलफलमा सहभागी हुन नसक्ने पत्र बुझाएर फर्किएका छन्।
नेम्वाङले नेकपाको आधिकारिकताबारे आयोगले अस्ति नै निर्णय गरिसकेकाले त्यसमा थप केही गर्नु नपर्ने बताए।
केही दिनअघि आयोगले ओली थपेका नयाँ केन्द्रीय सदस्य र प्रचण्ड-नेपाल समूहले माधवकुमार नेपाललाई अध्यक्ष बनाएको कुरालाई अस्वीकार गरेको थियो।
प्रतिक्रिया