Pura Samachar

सर्लाहीमा सशस्त्र प्रहरीमाथि आक्रमण, प्रतिरक्षाका लागि १० राउण्ड हवाई फायर

प्रकाशित: June 12, 2020

सर्लाहीमा सशस्त्र प्रहरीमाथि आक्रमण, प्रतिरक्षाका लागि १० राउण्ड हवाई फायर

काठमाडौं। भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकहरुले सर्लाहीस्थित सशस्त्र प्रहरी बलको पोष्टमा आक्रमण गरेका छन्। सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले उनीहरलाई नेपाल प्रवेश गर्न नदिएपछि आक्रमण गरेका हुन्।

भारतीय नागरिकले सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेपछि आत्मरक्षाका लागि भन्दै प्रहरीले गोली चलाएको छ। बिहान भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरूले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।

सशस्त्र प्रहरीले प्रत्याक्रमण गर्न थालेपछि नेपाल प्रहरीले पनि भीड तितरविरत पार्न प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रमुख एसपी विश्वमणि पोखरेलले बताएका छन्।

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकलाई रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गर्न खोजेको र हतियार पनि खोस्न आएपछि फाएरिङ गरेको एसपी पोखरेलले बताए।

एसपी पोखरेलका अनुसार सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको हो। त्यसपछि सशस्त्र प्रहरी बलले १० राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीमा यसअघि पनि भारतीय नागरिकहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै आएका छन्।

प्रतिक्रिया