
काठमाडौँ, ४ फागुन (रासस) ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति नन्दबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शाहीको यही फागुन ३ गते निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै शाहीको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । विसं २००२ पुस १४ गते जन्मनुभएका शाही विसं २०५१ मा जिल्ला कार्यसमिति दैलेखको पार्टी सभापति हुनुहुन्थ्यो । उहाँ विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र सुकुम्वासी आयोग दैलेखको पूर्वउपाध्यक्ष हुनुहुन्थ्यो । स्व शाहीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ ।
प्रतिक्रिया