Pura Samachar
  • शैक्षिक बेरोजगारी घटाउन गरिखाने शिक्षाको आवश्यकताडा–डीआर उपाध्याय

    प्रकाशित: १ हप्ता पहिले

    शैक्षिक बेरोजगारी घटाउन गरिखाने शिक्षाको आवश्यकताडा–डीआर उपाध्याय

    काठमाडौं– आज म मैले जाने बुझेको, भोगेको, देखेको हाम्रो देशको शिक्षा नीतिको बारेमा केही कुरा लेख्ने प्रयास गरिरहेको छु ।

    हुन त म शिक्षा क्षेत्रको विज्ञ होइन, तर यस बारेमा केही लेख्न मन लाग्यो ।

    आज हाम्रो देशको शिक्षानीति समय अनुकुल नभई परम्परागत ढंगले पठनपाठन हुँदै आएको छ ।

    आज हाम्रो देशका विश्वविद्यालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन् ।

    यो हाम्रो देशको विडम्वना हो ।

    हाम्रो देशको शिक्षा व्यवहारिक नभइ घोकन्तेमा आधारित छ ।

    परीक्षामा जसले पाठ घोकेर जान्छ, उही विद्यार्थीले जाँचमा राम्रो अंक ल्याउँछ, उसले मार्कसेटको संख्या बढाउँछ, धेरै विषयमा डिग्री बढाउँछ तर दुर्भाग्य उसले न रोजगार पाउँछ न त उसँग विषयगत पर्याप्त ज्ञान एवं सीप नै हुन्छ ।

    कारण के हो भने घोकन्ते शिक्षा ।

    घोकन्ते शिक्षा भनेको भरेको खर्च जस्तै हो ।

    हाम्रो देश कृषि प्रधान देश हो ।

    तर कृषि सम्वन्धि व्यवहारिक शिक्षालय छैनन् ।

    जसको कारणले गर्दा शिक्षक एवं विद्यार्थीहरू कृषि क्षेत्रमा अनभिज्ञ छन् ।

    खाद्य तथा फलफुल कसरी उत्पादन गरिन्छ ? भन्ने विषयवस्तु पाठ्यक्रममा समावेश गरिएको छैन ।

    यसले गर्दा देशको शिक्षा क्षेत्र व्यवहारिक छैन भन्ने कुराको पुष्टि हुन्छ ।

    व्यवहारिक विषयवस्तुको ज्ञान विद्यालय तहदेखि युनिभर्सिटीसम्म पाइँदैन ।

    हाम्रो देशका शिक्षालयमा विद्यार्थीहरुलाई कुनै पनि बस्तु अन्य मुलुकबाट उत्पादन गरी आयात गरिन्छ भन्ने विषयवस्तु घोकाएर कण्ठस्थ गर्न लगाइन्छ तर त्यही बस्तु कसरी उत्पादन गर्ने भन्ने कुराको व्यवहारिक ज्ञान नदिइ कक्षा चढाउने शिक्षा प्रणालीले गर्दा शैक्षिक बेरोजगारी दर बढ्दै गएको छ ।

    समग्र शिक्षा क्षेत्रमा यो चिन्ताको विषय हो ।

    अब हाम्रो देशको शिक्षानीति रोजगारीसँग कसरी जोड्ने भन्ने सवालमा वहसको विषय बनाउनु पर्छ ।

    शिक्षित युवाहरू स्वरोजगार नबनेसम्म देशको विकास हुन सक्दैन ।

    अबको शिक्षा भनेको ज्ञान र सीपसहितको गरी खाने शिक्षा हुनुपर्छ ।

    शिक्षा क्षेत्रका सबै सरोकारवाला निकायको ध्यान यतातिर जानु जरुरी छ ।

    हाम्रो शिक्षा प्रणालीलाई सिद्धान्तमा आधारित बनाइयो ।

    व्यवहारमा लागू हुन सकेन ।

    पाठ्यक्रममा नैतिक शिक्षालाई समावेश गरिएको छैन ।

    शिक्षित जनशक्तिका शैक्षिक प्रमाणपत्र घरमा थन्क्याएर अन्तर्राष्ट्रिय बजारमा श्रम गर्न जानु पर्ने बाध्यता छ ।

    यसको लागि गरिखाने शिक्षा आजको आवश्यकता हो ।

    सिद्धान्तमा आधारित अध्ययन गरेका विषयहरूलाई व्यवहारमा उतार्न सकिएन भने शिक्षा प्रमाणपत्र मात्र जम्मा गर्ने माध्यम हुन्छ ।

    त्यसले गर्दा राज्य यस विषयमा गम्भिर बन्न जरुरी छ । –फाल्गुन ७

    प्रतिक्रिया