Pura Samachar
  • चुनावमा वाचा गरेका कुरा बिर्सिएर सत्ता स्वार्थमा लडिरहेका छन्–डा.डीआर उपाध्याय

    प्रकाशित: ५ दिन पहिले

    चुनावमा वाचा गरेका कुरा बिर्सिएर सत्ता स्वार्थमा लडिरहेका छन्–डा.डीआर उपाध्याय

    काठमाडौं– देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई हुने थियो भने यो देश धेरै पहिले नै बनिसक्ने थियो ।

    जनता भोका, नाङगा र बेरोजगार छन् ।

    जनताको पीडा सुन्ने र बुझने नेताको अभाव छ यहाँ ।

    हिजो चप्पल लगाएर काठमाडौं छिरेका नेताहरुको काठमाडौंमा अलिसान महल र प्रशस्त बैंक ब्यालेनस छ ।

    आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने, फाइदा नेताले लिने यो कस्तो लोकतन्त्र हो ?

    बेला–बेलामा प्रश्न उठने गर्छ ।

    प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भैसक्यो ।

    यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन ।

    कुनै पनि देशमा यति धेरै समयसम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ ।

    दल र तिनका नेताहरुको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो ।

    तर हातमा लाग्यो शून्य ।

    यो तरिकाले देश बन्दैन ।

    सीमित नेता मोटाउने, जनता भोका हुने अवस्था कायम रहिरहेयो भने बिद्रोह हुन सक्छ ।

    यो बिषयमा सबै गम्भिर हुन अनिवार्य छ ।

    हामी कता जाँदैछौं र देशलाई कता लैजाँदै छौं ?

    सत्तामा पुगेपछि नेताहरु एक आपसमा लड्ने काम धेरै पहिलेदेखि सुरु भएको हो ।

    यो परम्परा र संस्कृति अझै कायम छ ।

    जसले गर्दा देश र जनताले दु:ख भोग्नु परिरहेको छ ।

    लामो समयदेखि जनताले कष्ट भोग्नु परिरहेको छ ।

    राज्य सञ्चालकहरु इमान्दार भएनन् ।

    यदि इमान्दार हुन्थे भने देश र जनताले पक्कै दु:ख पाउने थिएनन् ।

    नेताहरुले जनताको मतको अपमान गरे ।

    जनताप्रति उत्तरदायी भएनन् ।

    देशका युवा खाडी तथा अन्य मुलुकमा पलायन छन् ।

    यो रहर होइन, बाध्यता हो ।

    राज्यकोषको दुरुपयोग भएको छ ।

    कहाँ के कति खर्च भयो खोज्ने आँट कसैले गर्दैनन् ।

    देश आर्थिकरुपमा धराशायी बन्दै छ ।

    यो बडो चिन्ताको बिषय हो ।

    हिजो चुनावमा वाचा गरेका सबै कुरा बिर्सिएर नेताहरु सत्ता स्वार्थमा लडिरहेका छन् ।

    यो भन्दा लाज लाग्दो कुरा अरु के हुन सक्छ ?

    हामी आफैं सोचौं ।

    देश बनाउँछौ भन्नेहरु नै सत्ता स्वार्थमा लडिरहेका छन् ।

    अब जनता आफैं जाग्नु पर्ने बेला भएको छ ।

    यो तरिकाले देश उँभो लाग्दैन ।

    देशको हितका बारेमा लेख्दा कसैलाई यो कुरा तितो लाग्न सक्छ ।

    तितो भए पनि कुरा सत्य हो ।

    जनताको पक्षमा कलम चलाउँदा कसैलाई नराम्रो लाग्छ भने मैले के भनुँ ?

    राजनीतिको नाममा ब्यापार हुनु भएन ।

    मैले भन्न खोजेको कुरा यो हो ।

    राजनीतिक परिवर्तनपछि धेरै सरकार बने, तर जनताले देशमा सरकार भएको कुनै समय पनि महसुस गरेनन् ।

    जति सरकार बने पनि नेता बने तर देश र जनता बन्न सकेनन् ।

    नेता सम्पन्न बनेर मात्र देश बन्दैन ।

    सबैभन्दा पहिला देश र जनता सम्पन्न हुनु परयो भन्ने मेरो भनाई हो ।

    जबसम्म जनता सम्पन्न हुन सक्दैनन्, तबसम्म देश बन्दैन । फाल्गुन ११

    प्रतिक्रिया