पशुपति क्षेत्रमा पुजापाठ देखि सव जलाउने समेतको काममा कमी हुदाँ आम्दानी ठप्प जस्तै भएको छ। दैनिक हजारौको संख्यामा तिर्थालुको भिड लाग्ने र सयौको संख्यामा लास जलाएर आम्दानी गर्ने पशुपति क्षेत्र लकडाउनका कारण ठप्पा जस्तै बनेको छ।
बन्दाबन्दीका समयमा मात्र पशुपति क्षेत्रको आयमा १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट एक करोड ५७ लाख आठ हजार ७३०, विशेष पूजाबाट दुई करोड २५ लाख ७९ हजार ५ सय बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए।
चन्दाबाट दुई लाख ७२ हजार ९१७, पार्किङबाट दुई लाख ९९ हजार ९ सय ३५, गुठी जग्गाबाट हुने आम्दानीमा एक करोड ३२ लाख ९५ हजार ८ सय ६८, पर्यटक प्रवेश शुल्कबाट एक करोड दुई लाख ८२ हजार, क्रियापुत्री सेवाबाट रु १२ लाख ७५ हजार ४ सय ६१, तिलगङ्गा धर्मशालाबाट चार लाख ३९ हजार २३४, विद्युतीय शवदाहगृह सञ्चालनबाट १० लाख ८६ हजार ७ सय ५० कोषलाई घाटा लागेको उनले बताए।
अन्य शीर्षकमा समेत गरी अनुमानित १० करोड छ लाख ७२ हजार ६ सय ३९ घाटा भएको कोषले जनाएको छ । चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ।
घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ । मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ । कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ ।
प्रतिक्रिया