Pura Samachar

लैंगिक विभेदबाट हाम्रो समाज अझै मुक्त हुन सकेको छैन

प्रकाशित: March 9, 2021

लैंगिक विभेदबाट हाम्रो समाज अझै मुक्त हुन सकेको छैन

डा.डीआर उपाध्याय-
काठमाडौं– महिलाहरुले १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सोमबार धुमधामका साथ मनाएका छन् ।

श्रमिक महिलाको हकहितका लागि आवाज उठाउनु उनीहरुको अधिकारको कुरा हो ।

यो दिवस विश्वस्तरमै मनाउने गरिन्छ ।

यो दिवसलाई नेपालले पनि विशेष रुपमा मनाउँदै आएको छ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगारस समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो ।

नेपालमा महिला दिवस हरेक वर्ष मनाईने गरिन्छ ।

बिभिन्न संघ–संस्थाहरुले पनि यो दिवसमा अन्तरक्रियाका साथ महिलाहरुलाई सम्मान गर्दै आएका छन् ।

महिलालाई सम्मान गर्न सबैले सिक्नु पर्छ ।

जहाँ नारीको सम्मान र इज्जत गरिन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ ।

महिला दिवस हिजो जसरी उत्साहका साथ मनाइयो, त्यसै गरी महिला अधिकारका लागि पनि सबै जुटेर अघि बढ्नु पर्छ ।

नेपाल सरकार तथा महिलाका विषयमा काम गर्ने संंघसंस्थाले हरेक वर्ष यो दिवस मनाउँदै आएका छन् ।

यो राम्रो पक्ष हो ।

तर, महिला दिवसलाई औपचारिक कार्यक्रममै सीमित गरिएको देखिन्छ ।

दिवसका अवसरमा मात्र अधिकारका कुरा गरेर हुँदैन ।

अधिकारका कुरा सधैं उठाउनु पर्छ ।

अहिलेसम्म पनि समाजमा महिलालाई हेर्ने दृष्टिकाणमा खासै परिवर्तन आउन सकेको छैन ।

हरेक दिनजसो महिला हिंसामा परेको समाचार आउने गर्छन् ।

बालिका बलात्कृत भएर ज्यान गुमाउने क्रम अझै रोकिएको छैन ।

अन्यायमा परेका पीडितहरु न्यायका लागि भौंतारिरहेका छन् ।

महिला हिंसाका घट्ना रोक्नका लागि आम मानिसको सोच र व्यवहारमा परिवर्तन आउन जरुरी छ ।

मानिसको सोच र व्यवहारमा परिवर्तन नआए सम्म समाजमा महिला हिंसा रोकिने अवस्था देखिंदैन ।

महिला हिंंसा, घरेलु हिंसा, बलात्कार, दाइजोका नाममा हत्याजस्ता यी घटना अपराध हुन् ।

अपराधीहरुलाई कडाभन्दा कडा कानूनी सजाय नदिएसम्म यी घटनाहरु अझै बढेर जाने देखिन्छ ।

महिलामाथि हुने अपराधको संख्या दिनौं बढिरहेका छन् ।

गत महिना मात्रै बलात्कारपछि बैतडीकी भागरथी भट्टको हत्या भएको घटना बाहिर आयो ।

महिलाका मुद्दामा सरकार गम्भीर बन्न जरुरी छ ।

कानुन राम्रो हुँदाहुँदै पनि कार्यान्वयनको पक्ष फितलो देखिन्छ ।

महिला तथा बालबालिकाको मुद्दामा घटना नै दर्ता नहुने, मिलापत्र गराइने जस्ता प्रचलन यथावतै छन् ।

यसले गर्दा समाजमा दण्डहीनता मौलाएको छ ।

अपराधीलाई राजनीतिक संरक्षण दिइनु हुँदैन ।

यो प्रचलनले महिला समस्यामा पर्दै गएका छन् ।

महिलामाथिको हिंसा, विभेद रोक्नु पर्छ ।

यस्ता कुरामा सरकार संवेदनशील हुनुपर्छ ।

प्रभावकारी ढंगले अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउनु सरकारको प्रमुख जिम्मेवारी हो ।

२१ औं शताब्दीमा पनि नेपालमा महिला र पुरुषबीच सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै छ ।

लैंगिक विभेदबाट हाम्रो समाज अझै मुक्त हुन सकेको छैन ।

महिला र पुरुष भनेको एकै रथका दुई पाङ्ग्रा हुन ।

ठाउँ-ठाउँमा महिला तथा बालबालिकामाथि सामूहिक बलात्कारपछि हत्या बढ्दै गएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तले न्याय पाउन नसक्दा अपराधीहरूको हौसला बढ्यो ।

बझाङकी १२ वर्षीया सम्झना कामी, बैतडीकी १७ वर्षीया भागरथी भट्ट र महोत्तरीकी ६ वर्षीया गुलाफ साह खातुनले निर्मलाकै नियति भोग्नु पर्यो ।

प्रतिक्रिया