डा.डीआर उपाध्याय–
काठमाडौं, चैत ६,– देशमा बेरोजगारी समस्या दिनहुँ बढ्दै गएको छ ।
यो चिन्ताको विषय हो ।
दृष्टिकोण
बेरोजगारी समस्या समयमै समाधान हुन सकेन भने देशमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थाल्छन् । यसलाई समयमै सम्बोधन गर्ने कार्य प्रभावकारी हुन जरुरी छ ।
यदि समयमै यो समस्या समाधान गर्न सकिएन भने यसले अझ भयावह रूप लिने निश्चित छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसारका रोजगार सिर्जनाका कार्य योजनाको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।
स्थानीय, प्रदेश र संघ तीनै तहबाट रोजगार सिर्जनाको कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ ।
देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति खाडी मुलुक देखि अन्य मुलुकमा पलायन हुन बाध्य छन् ।
राज्यले ती युवामा आशा, भरोसा र विश्वास जगाउन सक्नु पर्छ ।
हाम्रो देशका युवामा केवल निराशा र वितृष्णा मात्रै छ ।
यसो हुनुको कारण पनि छ ।
देशमा गरि खाने शिक्षा भएन ।
अहिलेसम्म पनि नेपालको शैक्षिक नीति सीपमूलक र व्यवहारमुखी हुन सकेको छैन ।
जसले गर्दा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन् ।
पछिल्लो समयमा केही शैक्षिक संस्थाहरूले सीपमूलक र व्यवहारमुखी शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लागेका छन् ।
अब सैद्धान्तिक ज्ञान मात्रै प्रदान गरेर बेरोजगारी समस्या हल हुँदैन ।
स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आवश्यकता हो ।
अब सीपमूलक र व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्छ ।
मुलुकमा बेरोजगार समस्याले भयावह रूप लिएको छ ।
मुलुकको कृषि, उद्योग, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने कार्यमा राज्यका तीन वटै तहको पहल आवश्यक देखिएको छ ।
युवालाई स्वदेशमा टिकाउने वातावरण राज्यले सिर्जना गर्नु पर्छ ।
युवा बिदेशिनु बाध्यता हो, रहर होइन ।
यही बाध्यताले विदेसिएका युवाले पठाएको रेमिट्यान्समा देश चलेको छ ।
तर पनि नेपाली जनता पीडामा छट्पटाइरहेका छन् ।
आफ्नै देशको समृद्धिमा जुट्नुपर्ने युवा परदेशमा आँसु र पसिना बगाउँदै छन् ।
यो दुखद कुरा हो ।
अहिलेसम्म देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ ।
गत वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण पछिल्लो समय वैदेशिक रोजगारमा कमी आएको तथ्यांकले बताएको छ ।
कामदारको कम मागले गर्दा धेरै देशमा कार्यरत कामदार आफ्नै देश फर्कन बाध्य हुँदैछन् ।
यसले नेपालजस्ता धेरै देश आर्थिक संकटमा पर्ने सम्भावना बढ्दै गएको छ ।
नेपालको वैदेशिक रोजगार पनि कोभिड–१९ बाट प्रभावित छ ।
पछिल्लो समय वैदेशिक रोजगारमा जानेको भन्दा फर्कनेको संख्या बढिरहेको छ ।
रोजगारका लागि विदेश जानेभन्दा विदेशमा रोजगार गुमाएर फर्कनेको संख्या चार गुणा बढी रहेको देखिन्छ ।
जसले गर्दा नेपालमा बेरोजगारको अवस्था भयावह हुने देखिन्छ ।
देशको अर्थतन्त्रसमेत संकटमा पर्न सक्ने सम्भावना देखिएको छ ।
जोसिला र ऊर्जाशील युवा स्वदेश फर्कनु देशका लागि अवसर पनि हो ।
यो अवसरलाई राज्यले सहि सदुपयोग गर्न सक्यो भने देशले समृद्धिको यात्रामा फड्को मार्ने निश्चित छ ।
प्रतिक्रिया