Pura Samachar

असिनाले आलु बाली नष्ट, किसान चिन्तित

प्रकाशित: April 17, 2021

असिनाले आलु बाली नष्ट, किसान चिन्तित

–कुमार नेगी

टिस्टुङ, ४ वैशाख (रासस) ः मकवानपुरको थाहा नगरपालिका–३ का सुरज मोक्तानले १९ रोपनीमा आलु बाली लगाएका थिए । तर, शुक्रबार साँझ लगातार दुई घण्टाभन्दा बढी समय हुरीबतास र चट्याङसँगै परेको असिनाका कारण सबै नष्ट गरेको छ ।

“रु तीन लाखभन्दा बढी लगानी गरेर सो क्षेत्रफल जग्गामा आलु लगाएको थिएँ, असिनाले केही पनि बाँकी राखेन”, उहाँले भन्नुभयो, “अब आलु नष्ट भएको जमिन जोतेर अर्को बाली लगाउनुको विकल्प नै छैन ।” अर्का किसान अरुण कार्कीको पनि फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ । “शुक्रबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो”, उहाँले भन्नुभयो, “शनिबार बिहान हेर्दा जग्गा मात्रै देखें । विनाशकारी असिनाले सबै सोत्तर बनायो ।”

हुरीबतास र चट्याङसँगै परेको असिनाका कारण थाहा नगरपालिकामा व्यापक मात्रामा तरकारी बाली नष्ट भएको छ । थाहा नगरपालिकाको वडा नं २, ३, ४, ५ र ७ तथा कैलाश गाउँपालिकाको वडा नं ५ मा लगाइएको आलु बाली नष्ट भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । वर्षको पहिलो नगदे बालीका रूपमा कृषकले आफ्नो सबैजसो जग्गामा आलुखेती लगाएका थिए । पहिलोपटक गोडमेल गरेर लहलह भएको आलु बालीमा असिना परेर सबै पात नष्ट भएको र मूल डाँठ मात्र बाँकी रहेको कृषकले बताएका छन् । यस क्षेत्रमा दुई हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाइएको आलु असिनाले चुटेर पूर्णरूपमा नष्ट भएको जनशक्ति कृषक सहकारीका राजकुमार केसीले बताउनुभयो । करोडौँ मूल्यको आलुखेती नष्ट हुँदा कृषक चिन्तित भएका छन् । असिनाका कारण फल्ने बेला भएको आलु मात्र होइन, आलु बालीपछि खेतीका लागि तयार हुँदै गरेको काउली, बन्दा, खुर्सानीलगायत तरकारीको स–साना बेर्ना पनि सखाप भएको छ । ठूलो परिमाणमा परेको असिनाका कारण टनेलको प्लास्टिकसमेत प्वाल परेको कृषक अरुण कार्कीले बताउनुभयो । थाहा नगरपालिका–३ को घर्तीखोला क्षेत्रमा ठूलो मात्रामा परेको असिना २४ घण्टा वित्दासमेत पग्लिन सकेको छैन । छानामा जमेको असिनाको भारले घर्तीखोलामा केही घर र छाप्रासमेत भत्किएको वडा सदस्य भरत स्याङ्तानले जानकारी दिनुभयो । स्थानीयवासी शिक्षक दीपक कार्कीका अनुसार सो क्षेत्रमा परेको असिना २० वर्षयताको पहिलो हो । यसअघि विसं २०५८ तिर ठूलो मात्रामा असिना पर्दा किसानले लगाएको काउली, बन्दा नष्ट भएको थियो । अविरल असिना र हावाहुरीका कारण थाहा नगरपालिका क्षेत्रमा हिजो दिउँसोदेखि विद्युत् आपूर्तिसमेत बन्द भएको थियो । विद्युत् आपूर्ति बन्द हुँदा नेपाल टेलिकमको नेटवर्कमा समेत समस्या आएको थियो । अहिले पनि थाहा नगरपालिका–३ घर्तीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया