Pura Samachar
  • उपप्रधानमन्त्री पोखरेलद्वारा उपचार सहज बनाउन कैलालीका प्रजिअलाई निर्देशन

    प्रकाशित: ७ दिन पहिले

    उपप्रधानमन्त्री पोखरेलद्वारा उपचार सहज बनाउन कैलालीका प्रजिअलाई निर्देशन

    काठमाडौँ, २१ वैशाख (रासस) ः उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो स्थितिबारे जानकारी लिँदै राज्यको उपस्थिति जनाउन त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । कोभिड–१९ रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलले आज प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी सो जिल्लामा बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएका जस्ता गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनतालाई राहतको महसुश गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो । मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको समन्वय गर्न तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफू वा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन दिनुभयो ।

    उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिनुभएको थियो । प्रजिअ रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिनुभयो । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको उहाँले जानकारी गराउनुभयो । उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सिसिएमसीले सहयोग गर्ने बताउनुभयो । खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उहाँले निर्देशन दिनुभएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो ।

    प्रतिक्रिया