प्रधानमन्त्री तथा मन्त्रीहरूले जिम्मा लिएर दुई वर्षअघि विद्यालय भर्ना गरेका दुर्गमका बालबालिकाको समेत रेडियोमा पहुँच नभएको पाइएको छ । एकपटक भर्ना गरेपछि जिम्मा लिएकाहरूले उनीहरूलाई बेवास्ता गरेका छन् । जसले गर्दा उनीहरू पनि भर्चुअल कक्षाबाट वञ्चित हुने भएका छन् ।
१ वैशाख ०७५ मा प्रधानमन्त्री केपी ओलीले मुगुका ठिन्ले साँबु लामा र उनकी पत्नी राधिका शाक्यले छिरिङ छेन्जोम लामाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका थिए । स्थानीय बुद्ध मावि, मांग्रीमा अध्ययनरत दुवै बालबालिका कक्षा २ उत्तीर्ण गरी ३ मा अध्ययन गर्न योग्य भएका छन् । आमाले जसोतसो हुर्काइरहेका दुवै बालबालिका प्रविधिबाट कोसौँ टाढा छन् ।
बुद्ध माविका सहायक प्रधानाध्यापक दिलेन्द्र शाहीका अनुसार दुवै बालबालिकाको घरमा रेडियोसमेत छैन । ठिन्ले साँबु लामाको घरमा किबोर्ड भएको मोबाइल छ, तर छिरिङ छेन्जोम लामाको घरमा सम्पर्कको माध्यमसमेत नभएको शाहीले बताए । ‘गाउँमै टेलिभिजन छैन, रेडियो पनि एक÷दुईजनासँग मात्रै छ । बिजुली छैन, कतै सोलारबाट काम भइरहेको छ । यस्तो अवस्थामा यहाँका बालबालिकाका लागि भर्चुअल कक्षा आकाशको फलजस्तै हो,’ शिक्षक शाहीले भने ।
प्रधानमन्त्रीसँगै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि मुगुकै कर्मायान्जिन लामाको जिम्मा लिएका थिए । उनी पनि इन्टरनेटको पहुँचमा छैनन् । उनी स्थानीय जनप्रभाव आधारभूत विद्यालयमा पढ्छन् । उनको घरमा भने पुरानो रेडियो सेट छ । कर्माका बाबु पद्मा नाम्गेल लामाले भने, ‘टेलिभिजन गाउँमा कसैसँग छैन, इन्टरनेट एक÷दुईजनाले प्रयोग गर्छन् ।’ नयाँ पत्रिकामा ‘अभिभावकत्व लिएकाले बेवास्ता गरेको’ समाचार आएपछि चालू आर्थिक वर्षमा शिक्षामन्त्री पोखरेलले कर्माका लागि आठ हजार रुपैयाँ, ड्रेस, किताब, कापी, झोला पठाइदिएको उनले बताए ।
त्यस्तै, मुगु गएको समयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सूर्यदेवी रोकाया र पुष्कर रोकाया, पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले विनिता नेपाली, पूर्वमन्त्री जनार्दन शर्माले सन्तोष भियाल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरोज नेपालीको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका थिए । तर, एकपटक भर्ना गरेपछि उनीहरूको कसैले पनि वास्ता गरेका छैनन् । उनीहरू पनि इन्टरनेटको पहुँचमा नरहेको मुगुका अधिकारीहरू बताउँछन् । त्यसैले भर्चुअल कक्षा सुरुवात गरिए प्रधानमन्त्री तथा मन्त्रीहरूले अभिभावकत्व लिएका बालबालिकासमेत पढाइबाट वञ्चित हुनेछन् ।
आगामी आर्थिक वर्षका लागि सरकारले शिक्षामा आठ अर्ब रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । विभिन्न विपत्ति आइरहे पनि विद्यालयदेखि विद्यार्थीसम्म प्रविधिको पहुँच पुर्याउने काममा सरकार चुकेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले कोरोनाबाट आएको विपत्तिलाई सामुदायिक विद्यालयले सुधारका लागि अवसरका रूपमा लिन सक्ने बताएका छन् । तर, कोरोनाका कारण पठनपाठन बन्द भएको, भर्चुअल कक्षाका लागि बहस चलिरहेका वेला विद्यालयदेखि विद्यार्थीसम्म पहुँच पुर्याउन उनले पनि पहल गर्न सकेनन् ।
सामुदायिक विद्यालय साढे २९ हजार, प्रविधि प्रयोग गर्ने साढे तीन हजार
केही दिनअघि सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार देशभरका २९ हजार ६ सय सात सामुदायिक विद्यालयमध्ये तीन हजार ६ सय ७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गरेका छन् । कम्प्युटर पुगेका विद्यालयको संख्या आठ हजार तीन सय ३६ छ । सरकारले माध्यमिक विद्यालयमा समेत प्रविधिको पहुँच पुर्याउन सकेको छैन, विद्यार्थी पनि प्रविधिको पहुँचबाहिर छन् । भर्चुअल पठनपाठन र प्रविधिमैत्री विद्यालयको पक्षमा रहेको सरकारले आगामी आर्थिक वर्षमा एक/एक हजारको संख्यामा विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब स्थापना गर्न रकम विनियोजन गरेको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७६/७७ सम्म रेडियोको राष्ट्रिय पहुँच ८७ प्रतिशत र इन्टरनेट ग्राहकको घनत्व ७५ प्रतिशत पुगेको छ । नेपाल टेलिभिजनको देशभित्र जनसंख्याको ७२ प्रतिशत र भौगोलिक क्षेत्रको ५२ प्रतिशत पुगेको छ । इन्टरनेट ग्राहक संख्या एक करोड ८७ लाख पुगेका छन् ।
प्रधानमन्त्री भन्छन्–प्रविधि, अब हाम्रा घरघरमा प्रवेश गर्दै छ
प्रधानमन्त्री केपी ओलीले विद्यालय तहका बालबालिकाहरूको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरु भएको घोषणा गरेका छन् । सोमबार टेलिभिजनमार्फत बालबालिकालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यसहित सरकारले विद्यालय तहका बालबालिकाहरूको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम सुरु गरेको बताएका छन् ।
‘प्रविधि, अब हाम्रा घरघरमा प्रवेश गर्दै छ । यसलाई नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्छ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रेडियो तथा टेलिभिजनबाट पठनपाठन गर्न लागेकोमा बालबालिकालाई शुभकाना दिँदै ओलीले भने, ‘कोरोना महामारीपछिको विद्यार्थी समूह, सिंगो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनुपर्छ ।’ प्रविधिमा सबैको समान पहुँच नभएको विषयमा पनि आफू जानकार भएको उनले बताए ।
प्रत्यक्ष कक्षा सञ्चालन हुन नसके पनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफलाइनका माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउने वैकल्पिक प्रणाली सुरु गरिएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेपालको विकास समान स्तरमा नभएको पनि बताए । ‘प्रविधिको पहुँच एकैनासको पनि छैन । सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन । त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोतसाधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीको पहिचान र वर्गीकरण गरिएको छ,’ उनले भने ।
सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा यकिन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने प्रधानमन्त्रीले बताए । त्यस्तै, रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्रीसहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने, टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजनमार्फत पठनपाठन सञ्चालन गराउन लागेको उनले जानकारी दिए । कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरू उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाइन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने उनको भनाइ छ ।
कोरोना महामारीपछिको विद्यार्थी समूह, सिंगो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनुपर्छ ।
महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेको उनले बताए । माध्यमिक शिक्षा परीक्षा (एसइई)को विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको उनको भनाइ छ । वैकल्पिक सिकाइको प्रणालीमा जोडिएका आधा करोडभन्दा माथिको संख्यामा रहेका भाइबहिनीहरू भविष्य र देशको कर्णधार भएको बताए । उनले भने, ‘तपाईंहरूको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लगानी हो । भविष्यमाथिको लगानी हो ।’
‘ढुक्क हुनुस्, गफ हानेको होइन’
झन्डै एक शताब्दीदेखि पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको प्रधानमन्त्री ओलीले बताए । देश बन्दैन कि भन्ने चिन्ता गरेका युवाहरूलाई समेत प्रधानमन्त्री ओलीले सम्झाउने प्रयास गरे । उनले भने, ‘एकमुष्ट भन्न चाहन्छु, जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तान यस मुलुकको भाग्यमानी पुस्ता बन्छन् भन्ने तपाईंका अभिभावकहरूको भनाइ झुट्टा सावित हुँदैन ।’
मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक नरहेको उनले दाबी गरे । बालबालिकालाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन । ढुक्क रहौँ– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।’ जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालय पुनः सञ्चालन हुने उनले बताए । विद्यालयहरू पुनः सञ्चालनमा नआएसम्म सुरु भएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीको ज्ञानमा महत्वपूर्ण योगदान गर्ने र शैक्षिक वर्ष खेर जान नदिन योगदान गर्ने उनले बताए । अहिले अध्ययनमा नेपालमा नयाँ अभ्यास भइरहेकाले सबै बालबालिकालाई सिकाइमा सहभागी हुन प्रधानमन्त्रीले आह्वान गरे ।
रेडियो र टेलिभिजनमार्फत पठनपाठन
कोरोना भाइरसका कारण विद्यालय जान नसकेका विद्यार्थीलाई लक्षित गरी सोमबारदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णु अधिकारीले कक्षा १ देखि ८ सम्मको एनटिभी प्लसबाट बिहान १० देखि अपराह्न ३ बजेसम्म पाँच घन्टा पठनपाठन गर्न लागिएको बताए । कक्षा ९ र १० को रेडियो नेपालमार्फत पठनपाठन गरिनेछ । त्यस्तै, कक्षा ९ र १० को अडियो भिजुअल सामग्री डिस होम, नेट टिभी र म्याक्स टिभीबाट दैनिक चार घन्टा प्रसारण हुँदै छ । टेलिभिजनहरूले अडियो भिजुअल सामग्री नि:शुल्क प्रसारण गर्न लागेका हुन् ।
रेडियोमार्फत पढाइ हुने पाठ १५ देखि २० मिनेट, भिजुअल सामग्री ३५ मिनेटको तयार गरिएको छ । कक्षा १ देखि ८ सम्मको दैनिक तीन विषय तथा ९ र १० को ६ विषय पढाइ गर्न लागिएको हो । केन्द्रले एक महिनाका लागि पठनपाठनको व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया