Pura Samachar

आत्मबलले मान्छेलाई बाँच्न सिकाउँछ

प्रकाशित: May 15, 2021

आत्मबलले मान्छेलाई बाँच्न सिकाउँछ

 

– डा.डीआर उपाध्याय

काठमाडौं, जेष्ठ १ । अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ।

यति बेला हामीलाई ठूलो सकस परिरहेको छ ।

रातमा निद्रा लाग्दैन ।

दिनमा छटपटि छुट्छ ।

घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन् ।

आज देशका विभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ ।

यो महामारी नियन्त्रणका लागि देशका विभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ ।

सबैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं ।

तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन ।

महामारी नियन्त्रणको लागि अब सबैले आ-आफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आवश्यकता छ ।

यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन ।

सरकारलाई सघाउन सबैले महत्वपूर्ण भूमिका खेलौं ।

कोरोना संक्रमणले डरलाग्दो रुप लिँदै आएको छ ।

सबैले धर्य गरौं, हतास मनस्थिती नबनाऔं ।

आत्मबललाई उच्च बनाऔं ।

आत्मबलले मान्छेलाई बाँच्न सिकाउँछ ।

मनमा अनावश्यक कुरा खेलाएर नबसौं ।

यो फुर्सदका बेलामा बिभिन्न किसिमका आत्मबल बढाउने र उर्जा दिने खालका पुस्तक पढेर समय बिताउने काम गरौं ।

महामारी नियन्त्रण सरकारको वशमा छैन ।

आर्थिक रूपमा विश्वमै शक्तिशाली मानिएका देशहरूलाई समेत यो कोरोना भाईरसले अत्यायो ।

गत वर्ष कोरोना भाईरस एक देशबाट अर्को देशमा सल्किएर विश्वव्यापी बन्यो ।

पछिल्लो समयमा आएर इटालीमा पनि महामारीले ठूलो रुप लियो ।

चीनले इटालीसम्म चिकित्सकसहित स्वास्थ्य सामग्री पठायो र ठूलो साथ दियो ।

महामारीमा त्यस देशका जनता एक भए ।

इटालीवासीले नियन्त्रणपछि केही समय आरामको श्वास फेरेका छन् ।

सामूहिक अभियान र प्रतिवद्धता महत्वपूर्ण कुरा रहेछ ।

अहिले नेपाल स्वास्थ्य संकटमा गुज्रिएको छ ।

छिमेकी मुलुक भारत आफैं कोरोनाको दोस्रो लहरले थलिएको छ ।

चीन सहयोग दिन र महामारी नियन्त्रण ल्याउनमा व्यस्त छ ।

यही बेलामा राजनीतिक दलहरु सरकार बनाउने खेलमा लागे ।

हाम्रो आफ्नै लापरवाहीले गर्दा महामारीको क्षति पहिलो लहरमा भन्दा दोस्रो लहरमा बढी बेहोर्नु परेको छ ।

योे कुरा हामी सबैलाई अवगत नै छ ।

अब यो विषयमा चिन्तन-मनन् गर्ने समय घर्किएको छ ।

अब स्वास्थ्य संकट व्यवस्थापन कसरी गर्ने भन्ने सबैलाई चिन्ता छ ।

महामारी नियन्त्रणमा नआएसम्म सबैले सामाजिक दुरी कायम राख्नु पर्छ ।

यो नियन्त्रणका लागि हामी सबैले हातेमालो र सामूहिक प्रतिवद्धता गर्नु पर्ने आवश्यकता छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी दिन-रात परिवार नभनी आफ्नो स्वास्थ्य समेत जोखिममा राखी संक्रमितको उपचार र सेवामा खटिरहेका छन् ।

यो माहामारीका बेला सञ्चारकर्मीहरु छिनछिनको समाचार संकलनमा खटिरहेका छन् ।

स्थलगत रिपोटिङमा खटिएका सञ्चारकर्मी पनि धेरै जोखिममा छन् ।

सञ्चारकर्मीहरू पनि संक्रमित छन् ।

संक्रमित सञ्चारकर्मीहरुले ज्यान समेत गुमाएका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु पनि संक्रमित भएका छन् ।

सरकारले उनीहरुका बारेमा विशेष सोच्नु पर्छ ।

अहिले यो कोरोना संक्रमणवाट कोही अछुतो छैन ।

त्यसैले यो कोरोनासंग कसैले खेलवाड नगरौं ।

शवलाई व्यवस्थापन गर्ने काम सुरक्षाकर्मीले गरेका छन् ।

अप्ठ्यारो बेलामा साथ र सहयोग गर्नु मानव धर्म पनि हो ।

आमनागरिकले लकडाउन र निषेधाज्ञालाई मुख्यरूपमा पालना गर्नुपर्ने देखिन्छ ।

सत्ताको नेतृत्व गरेको दलले मुख्य रुपमा नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्न सक्नु पर्छ ।

अहिले यो बाहेक अन्य कुरा सोच्ने बेला छैन ।

यो महामारीका समयमा दलका प्रमुख नेताहरु मिलेर कोरोना नियन्त्रणमा ल्याउने कुरामा ध्यान दिनु पर्छ ।

त्यसैले अब सत्ता स्वार्थ र पार्टी स्वार्थको राजनीति छाडेर राजनीतिक दल र तिनका नेताहरु स्वास्थ्य संकट व्यवस्थापनमा सामूहिक प्रतिबद्धता सहित लाग्नु पर्छ ।

प्रतिक्रिया