Pura Samachar
  • आजको आवश्यकता : महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता

    प्रकाशित: १ महिना पहिले

    आजको आवश्यकता : महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता

    –डा.डीआर उपाध्याय

    काठमाडौं, जेष्ठ ३ ।

    केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएको छ ।

    ओलीलाई यसअअघिका कार्यकाल भन्दा यो कार्यकाल धेरै चुनौतिपूर्ण छ ।

    किनभने अहिले देशका सामु जटिल परिस्थिति उत्पन्न भएको छ ।

    कोरोनाको दोस्रो लहरको प्रवेशले नेपाललाई सकस बनाईरहेको छ ।

    यस्तो बेलामा फेरि प्रधानमन्त्री नियुक्त हुनु भएका ओली सामु अवसर भन्दा धेरै चुनौतिका चाङ तेर्सिएका छन् ।

    ओलीले यो चुनौतिलाई कसरी पार लगाएर अघि बढनु हुन्छ, त्यो भने चासोको विषय बनेको छ ।

    अहिले जसले जे भने पनि उहाँका सामु असहज बाटो तेर्सिएको छ ।

    अहिले उहाँका काँधमा जिम्मेवारी र जवाफदेहिताको बोझ थपिएको छ ।

    यतिबेला कोरोना संक्रमणको महामारीले जनता आक्रान्त छन् ।

    बिरामीहरु समयमा उपचार नपाएर शैयामा छट्पटाइरहेका छन् ।

    अहिले संकटमा छ हाम्रो देशको अवस्था ।

    हरेक हिसावले हामी संकटतर्फ अग्रसर छौं ।

    समयमा उपचार नपाएर धेरै बिरामीको ज्यान समेत गएको छ ।

    देशभरीका अस्पतालमा अक्सिजन अभाव भएको समाचार आईरहेका छन् ।

    अस्पतालका शैया भरिभराउ छन् ।

    त्यहाँ कतै खुट्टा राख्ने ठाउँ छैन ।

    माहामारी जताततै फैलिएको छ ।

    यसको रोकथाम अझै हुन सकेको छैन ।

    आमनागरिक उपचार नपाई मरिएला भन्ने त्रासका बीच बाँच्न बाध्य छन् ।

    उनीहरुको आत्मबल अझै बढ्न सकेको छैन ।

    हजारौं नागरिक शैयामा छट्पटाइरहेका छन् ।

    यावत विषम परिस्थितिबिच ओली सरकारलाई कोभिडसंग जुध्नु परिरहेको छ ।

    ओली सरकारको अगाडिको बाटो त्यति सहज पक्कै छैन ।

    पहिलो चरणको कोरोना महामारीभन्दा अहिलेको कोरोना डर लाग्दो छ ।

    यस्तो बेलामा पनि राजनीति गतिविधिले प्राथमिकता पाउनु हाम्रो लागि दु:खद कुरा हो ।

    सत्ता स्वार्थको राजनीतिले गर्दा नेकपा विवाद विघटनमा टुंगियो ।

    दोस्रो चरणको कोरोना व्यापकतासँगै एमाले झन्डै झन्डै फुट्न आँटेको थियो ।

    अहिलेसम्म जोगिएको छ ।

    भोलि के हुने हो थाहा छैन ।

    पार्टी मिलाउने भनेर वार्ता टोली समेत गठन भएको छ ।

    सबै नेताको ध्यान कोरोना नियन्त्रणतिर जानु पर्नेमा यतातिर अल्झिएको छ ।

    ओलीको प्रधानमन्त्री पद संकटमा परेर फिर्ता आएको छ ।

    अब ओली सरकारले झिना मसिना कुरामा नअल्झिएर पुरै ध्यान कोरोना नियन्त्रण र यसको व्यवस्थापनमा दिनु पर्छ ।

    अब राजनीतिक प्रदूषण बढी भयो ।

    अब केही समयलाई राजनीति छाडेर सबैको ध्यान कोभिडतिर जानु पर्छ ।

    आफूले बनाएका योजना, कोरेका बाटा र गरेका संकल्प पूरा गर्ने दायित्व ओली सरकारको हो ।

    किन भने यो सरकार यो भन्दा अघि पनि थियो ।

    अहिले सरकारमा पुरानै अनुहार दोहोरिएका छन् ।

    सरकार प्राविधिक रूपमा नयाँ भए पनि यथार्थमा पुरानैको निरन्तरता हो ।

    त्यसैले नयाँ योजना बनाउन समय लाग्ने अवस्था छैन ।

    प्रधानमन्त्री पुरानै हुनुहुन्छ ।

    मन्त्री पनि पहिलेकै हुन् ।

    देशमा मुख्य चुनौतीका रूपमा खडा भएको कोरोना भाइरस कसरी नियन्त्रणमा ल्याउने भन्ने विषयमा सरकार गम्भिर बन्नु पर्छ ।

    अक्सिजनलगायत स्वास्थ्य सामग्रीको जोहो गर्नु पर्ने आवश्यकता बढी छ ।

    अब सरकार द्रुत योजना बनाएर महामारी नियन्त्रणमा लाग्नु पर्छ ।

    समय केही घर्किएको छ, तर पनि हात उठाइहाल्नुपर्ने अवस्था छैन।

    अब ओली सरकारले महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता कायम गर्न ढिलाई गर्नु हुँदैन ।

    महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आवश्यकता हो ।

    उपचार नपाएर ज्यान गुमाएका नागरिकको आत्माले के भने होला ?

    बिरामी र उनका आफन्तहरु रोइरहेका छन् ।

    उनीहरुका आँसुले के भने होला ?

    त्यसैले केही समय केही दिनका लागि राजनीतिक छाडेर अब सबै दल कोरोना नियन्त्रणको अग्रमोर्चामा उत्रिनु पर्ने आवश्यकता भएको छ ।

    त्यसको अभिभावकत्व लिनुपर्ने दायित्व प्रधानमन्त्री ओलीकै हो ।

    सरकारले बजेट ल्याउनेसमय पनि आएको छ ।

    बजेटमा कुन कुरालाई प्राथमिकताले दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

    सरकारको मुल्यांकन गर्ने भनेको उसले अघि सारेको जनमुखी बजेटमा निर्भर गर्छ ।

    अबको बजेट महामारी नियन्त्रणमुखी हुनु पर्छ ।

    महामारीले क्षति पुगेको क्षेत्रलाई बजेटले मलमपट्टि लगाउनु पर्छ ।

    बजेट वितरणमुखी नभई जनमुखी हुनु पर्छ भन्ने हाम्रो कुरा हो ।

    स्रोतले नपुगेको खण्डमा नयाँ योजना अबको बजेटमा थप्न आवश्यक छैन ।

    बजेट स्वास्थ्यकर्मीको प्रोत्साहनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।

    कोरोना नियन्त्रणमा राज्यले ठोस नीति–कार्यक्रम ल्याएर अघि बढ्नु पर्छ ।

    नवनियुक्त प्रधानमन्त्री ओलीलाई देशको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य प्रदान गर्ने काममा सफलता मिलोस् ।

    यही छ, मेरो शुभकामना ।

    प्रतिक्रिया