
–डा.डीआर उपाध्याय
काठमाडौं, जेष्ठ ५ ।
देशमा पटक–पटक राजनीतिक परिवर्तन भए र व्यवस्था पनि बदलिए ।
तर, दु:खको कुरा जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन ।
पछिल्लो राजनीतिक परिवर्तनपछि आएको यो व्यवस्थामा जनताको अवस्थामा केही परिवर्तन आउँछ की भन्ने आम जनतामा झीनो अपेक्षा थियो ।
तर, जनताका ती अपेक्षाहरु अझै पुरा हुन सकेका छैनन् ।
आज देशमा जुन व्यवस्था छ, यो व्यवस्थामा जनताको भाग्य र भविष्य सुन्दर हुनु पर्दथ्यो ।
तर यहाँ नेता र जनप्रतिनिधिहरुको मात्र भाग्य र भविष्य सुन्दर छ, अरुको छैन ।
अहिले देशमा जुन किसिमका राजनीतिक गतिविधिहरु भइरहेका छन्, त्यसले वास्तवमा नेपालीको भविष्य बन्ने देखिँदैन ।
मुलुकको विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना केवल भ्रम मात्र भइरहेको छ ।
व्यवस्था परिवर्तन हुँदा जनताको भाग्य र भविष्य किन निर्माण हुन सकेन ?
आज उठ्ने प्रश्न भनेको यो हो ।
व्यवस्था अनि व्यवस्थासँगै परिवर्तित भएका पात्र, जनप्रतिनिधिहरु नै इमान्दार भएनन् ।
समस्या यहाँनिर छ ।
जनतालाई भ्रम बाँडेर भोट बटुल्ने र जनताको आडमा चुनाव जित्ने, चुनाव जितिसकेपछि जनतालाई वास्ता नगर्ने ?
यो कस्तो राजनीति हो ?
जनताको जनमतको प्रतिनिधित्व गर्ने भएरै जनप्रतिनिधि भनिएको हो ।
जनप्रतिनिधिको काम,कर्तव्य भनेकै जनताको सेवा गर्नु हो ।
जनताको आवाज बुलन्द गर्नु हो ।
विकास निर्माणका काममा अग्रणी भूमिका निर्वाह गर्नु हो ।
तर, बिडम्बना जनताको अपेक्षा बमोजिम काम हुन सकेनन् ।
यिनै जनप्रतिनिधिबाट सञ्चालित सरकारलाई जनताको आफ्नै शासन पनि भन्ने गरिन्छ ।
यी जनप्रतिनिधिहरुले जनताको सुख–दुःखमा महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।
तर विडम्बना, खै जनताको सुख–दुःखमा महत्वपूर्ण भूमिका खेलेको ?
एकपटक होइन पटक–पटक यिनै जनप्रतिनिधिमाथि कैयौं भ्रष्टाचारका आरोप लागिराखेका समाचार आउँछन् ।
आरोपित कतिपयका भ्रष्टाचार प्रमाणित भएर सजायसम्म काटिरहेका छन् भने कतिपयका मुद्दा न्यायालयमा विचाराधीनको अवस्थामा छन् ।
हिजो हामी जस्तै गरिव भएका देशहरु आज विकास र सम्पन्नताको हिसावले कहाँदेखि कहाँ पुगि सके ।
हामी भने हिजो जस्तो अवस्थामा थियौं, आज पनि त्यही अवस्थामा छौं ।
हामी कहिले अघि बढ्ने ?
ती राष्ट्रबाट हामीले कहिले पाठ सिक्ने ?
जुन देशमा जनप्रतिनिधिहरु अनुशासित हुन्छन्, ती देशहरुले छिटो विकासको फड्को मारेका छन् ।
उनीहरु भष्टाचार गर्दैनन्, अनुशासनमा बस्छन् ।
त्यसो भएर नै उनीहरुको देश सम्पन्न भएको हो ।
वास्तवमा राष्ट्रलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा माथि उठाउने भनेको जनप्रतिनिधिहरुले नै हो ।
यसमा उनीहरुको प्रमुख भूमिका रहेको हुन्छ ।
खराब र भ्रष्ट जनप्रतिनिधिका कारण देश माथि उठ्न सकेन ।
देश पछाडि पर्नुको मुख्य कारण भनेको भ्रष्टाचार र कुशासन नै हो ।
जनप्रतिनिधिका नाममा घुस खानु, कमिसनको बार्गेनिङ गर्नु भनेको जनताको अपमान हो ।
कयौं जनप्रतिनिधिहरु ठेक्कापट्टाका मालिक भएका छन्, अनि कसरी हुन्छ देशको विकास ?
यिनले शासनसत्ताको चरम दुरुपयोग गरिरहेका छन् ।
आफ्नो व्यक्तिगत विकास गरिरहेका छन् ।
नेपाली जनता भने अभावमा बाँच्न बाध्य छन् ।
मुलुकमा जे भइरहेको छ, ठिक भइरहेको छैन ।
अब सुधारको आवश्यकता छ ।
आज देश कोरोना भाइरसको संक्रमणले आक्रान्त छ ।
दिनहुँ दिन सयौंका संख्यामा मानिसले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ ।
हजारौंको संख्यामा संक्रमण बढिरहेको छ ।
हजारौंले हस्पिटलमा बेड नपाएर बिरामीलाई एम्बुलेन्समा राखी काठमाडौंको निजीदेखि सरकारी अस्पतालको गेटगेटमा पुगी बिन्ती चढाइरहेका छन् ।
उता अक्सिजन नपाएर कैयौं बिरामीको ज्यान गएको छ ।
लकडाउनका कारण गरीव र निमुखा जनताको खाना नपाएर बिजोग छ ।
यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन् ?
कोभिड–१९ बाट बच्न हिजोका दिनमा गरिएका पूर्वतयारीका विधि यो दोस्रो चरणमा झन् तीव्र रूपमा अगाडि बढाउनु पर्ने हो ।
हिजोका कमी–कमजोरीबाट पाठ सिक्दै झन् प्रभावकारी तवरले अगाडि बढनु पर्ने होइन र ?
खै, त्यो त देखिएन ।
आफ्नै जनप्रतिनिधिबाट आयात गरिएका औषधिजन्य वस्तुमा चरम घोटाला भएका समाचार आउँछन् ।
यस्तो अवस्थामा जनप्रतिनिधिबाट हामी अरु के आशा गर्न सक्छौं ?
आज भ्रष्टाचार र अक्षमताले विकराल स्थिति ल्याएको छ ।
राज्यस्तरबाट व्यवस्थापनमा कौशल नहुनु यसको प्रमुख कारण हो ।
हाम्रा स्थानीयस्तरका प्रमुखले एउटा बेडसम्म उपलब्ध गराउन नसकेका समाचार आउँछन् ।
जनता अप्ठ्यारोमा परेका बेलामा हो सहयोग गर्ने भनेको ।
अरु बेला त आफैं गरि खान्छन् ।
प्रतिक्रिया