असार ४, २०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपति चुनिन चीनको सहयोग अपेक्षा गरेको खुलेको छ। पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ किताबमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ट्रम्पले राष्ट्रपति चुनिन सहयोग लिने कोशिश गरेको उल्लेख छ। बोल्टनको किताबमा उल्लेखित प्रसंगलाई अमेरिकी मिडियाहरूले नै प्रकाशन/प्रसारण गरिरहेका छन्। अमेरिकी किसानका कृषि उत्पादन खरिदमा ट्रम्पले चीनको सहयोग अपेक्षा गरेका थिए। आफूमाथि महाअभियोग प्रकृया सुरु हुँदा पनि ट्रम्पले चीनसँग व्यापार तनाव हटाउन सम्झौता गरेका थिए। सन् २०१६ मा राष्ट्रपति चुनिँदा पनि ट्रम्पमाथि रूसको सहयोग लिएको आरोप लागेको थियो। चीनले गहुँ र भटमास किन्ने भएपछि सीलाई ‘महान नेता’को संज्ञा अघिल्लो वर्षको जुन महिनामा जापानको ओसाका शहरमा जी२० सम्मेलन भएको थियो। सो सम्मेलनमा चिनियाँ राष्ट्रपति सीसँग ट्रम्पले भेट गरेका थिए। न्यूयोर्क टाइम्समा बोल्टनको पुस्तकको एक उद्धरण छापिएको छ अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्न ट्रम्प र सी सहमत त्यहाँ बोल्टनले लेखेका छन्, ‘त्यतिखेर ट्रम्पलाई लाग्यो कि सी चिनफिङले अमेरिकाका डेमोक्रेटिक विरोधीहरूको कुरा गर्दैछन्, त्यसैले उनले आश्चर्यजनक रुपमा छलफललाई विषयान्तर गरे र सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावतर्फ मोडिदिए। उनले सीसँग चुनावमा आफूलाई जिताउन सहयोग माग्दै थिए। चीनले अमेरिकामा उत्पादित गहुँ र भटमास किनिदिए अमेरिकी किसानहरूलाई सहयोग पुग्ने र उनीहरूको भोट आफूलाई आउने ट्रम्पले बताएका थिए। जब सीले व्यापार वार्ताका क्रममा अमेरिकी कृषि उत्पादनलाई प्राथमिकता दिने बताए, तब ट्रम्पले सीलाई चीनको इतिहासकै महान नेताको संज्ञा दिन भ्याए।’ पुस्तक प्रकाशन रोक्ने कोशिश बोल्टनद्वारा लिखित ‘द रुम ह्वेर इट ह्यापन्ड’ शीर्षकको सो पुस्तक प्रकाशन रोक्न ट्रम्प प्रशासनले कोशिश गरिरहेको छ। अमेरिकाको न्याय विभागले पनि पुस्तकमा गोपनीय सूचना राखिएको जनाएको छ। बोल्टनको यो पुस्तक आगामी साता अर्थात जुन २३ तारिखका दिन बजारमा आउँदैछ। प्रकाशनार्थ तयार हुँदै गर्दा जनवरीमै ह्वाइट हाउसले यो पुस्तकमा महत्वपूर्ण गोपनीय विवरण रहेकाले त्यसलाई हटाउनुपर्ने भनेको थियो। तर लेखक बोल्टनले यसलाई अस्वीकार गरेका थिए। डोनाल्ड ट्रम्प फेरि अमेरिकी राष्ट्रपति चुनिन सम्भव छ ? बोल्टनले आफ्नो किताबमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग जाँच सुरु हुँदाका सबै घटना विवरण पनि उल्लेख गरेको जनाइएको छ। जनवरी महिनामा ट्रम्पविरुद्ध महाअभियोग प्रकृया सुरु भएको थियो। डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडन र उनका पुत्र हंटर बाइडनलाई भ्रष्टाचार मामिलामा अनुसन्धान अघि बढाउन ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जिलेन्स्कीलाई दबाब दिएका थिए। यसो नगरे अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता नै रोकिदिने ट्रम्पले धम्की दिएका थिए। रुसले क्रिमिया क्षेत्र कब्जा गरेपछि युक्रेनलाई अमेरिकाले सैन्य सहयोग गर्दै आएको थियो। यद्यपि, ट्रम्पले भने यसो गर्न नलगाएको भन्दै आफूमाथि लागेका आरोप खण्डन गरेका थिए। बोल्टन ट्रम्पकै कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा ह्वाइट हाउस पुगेका थिए। सन् २०१८ अप्रिलमा नियुक्त भएका उनले सोही वर्षको सेप्टेम्बरमा राजीनामा दिएका थिए। ट्रम्पले चाहिँ आफूले नै बोल्टनलाई बर्खास्त गरिदिएको दावी गर्दै आएका छन्। बोल्टनले आफ्नो पुस्तकमा जुन घटना र तथ्यहरू राखेका छन्, ती मध्ये अधिकांश कुरा यसअघि नै सर्वसाधारणको जानकारीमा आइसकेको छ। त्यसैले यो पुस्तकलाई तथ्यमा आधारित भनिएको छ। पूर्व सल्लाहकार या अज्ञात वर्तमान सहयोगीले ट्रम्प बारेका जानकारीहरू सार्वजनिक गरेको यो पहिलोपटक भने होइन। तीन वर्षअघि पनि ह्वाइटहाउसभित्र चलिरहेको सत्ता-संघर्ष र घृणित खेलहरूबारे सूचना सार्वजनिक भएको थियो। तर केही मामिलामा बोल्टनको पुस्तक निकै अलग रहेको बताइएको छ। तर यो पुस्तकमा कसरी ट्रम्पले अमेरिकाको विदेश नीतिलाई आफ्नो राजनीतिक लाभका लागि तोडमोड गर्छन् भन्ने खुलाइएको छ। आगामी चुनावमा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनलाई युक्रेनको मद्दत लिएर ट्रम्पले फसाउन खोजेको घटनालाई बोल्टनले पनि पुस्तकमा उल्लेख गरेका छन्। बोल्टनले पुस्तकमा कसरी ट्रम्पले फेरि राष्ट्रपति चुनिने सम्भावना बढाउन चीनसँग सम्झौता गरिरहेका थिए भन्ने खुलाइएको छ। तर ट्रम्पको पार्टी रिपब्लिकनका सांसदहरूले भने एक असन्तुष्ट अधिकारीले आफ्नो किताब बिकाउन नचाहिने आरोप लगाएको तर्क गरेका छन्। ट्रम्पलाई चुनावमा धक्का दिने पुस्तक बोल्टनको किताबले ट्रम्पलाई आगामी चुनावमा धक्का दिने विश्लेषण गरिएको छ। अहिले सत्तामा रहँदा नै निकै अलोकप्रिय छवि निर्माण गरिरहेका ट्रम्पका विवादास्पद काम कारबाहीको खुलासा पुस्तकमा भएकाले अब ट्रम्पलाई चुनावी बाटोमा अर्को धक्का लाग्ने पक्कापक्की भएको विश्लेषकहरूले बताएका छन्। कोरोना महामारी, आर्थिक गिरावट, अश्वेत आन्दोलन र सेनाभित्रको असन्तुष्टिका कारण ट्रम्प यसअघि नै आगामी राष्ट्रपतिका लागि कमजोर देखिएका छन्। अमेरिकामा आगामी पाँच महिनाभित्र राष्ट्रपतिको चुनाव हुँदैछ।
प्रतिक्रिया