Pura Samachar

संसदलाई ढाँट्ने मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने?’

प्रकाशित: June 18, 2020

संसदलाई ढाँट्ने मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने?’

हेटौंडा : बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलब्ध नगराएको बताए। बुधबारको संसद बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक २०७७ प्रस्तुत गरे पनि सांसदहरुको हातमा नपरेको बानियाँले बताए। मुख्यमन्त्री ढुंगेलले झुठो बोलेर संसदको गरिमा घटाएको उनको भनाइ संसदमा टेबुल भएको विधेयक सांसदहरुको हातमा नपर्दा सांसदहरु आक्रोशित र निराश भएको भन्दै उनले यस्तो प्रवृत्तिले बजेट पारित हुन नसक्ने चेतावनी दिए। ‘विनियोजन विधेयकमा मन्त्रालयगत रुपमा योजना बाँडफाँट हुन्छ, त्यो पुस्तक सांसदहरुले पाएनन्,’ उनले प्रश्न गरे, ‘किताब छापिएको छ भनेर सम्मानित संसदलाई ढाँट्ने मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने?’ नेपाली कांग्रेस मात्रै नभई सत्तापक्षकै सांसदहरु समेत आक्रोशित भएका उनले बताए। सभामुख सानुकुमार श्रेष्ठले समेत विश्वास गुमाएको उनले प्रतिक्रिया दिएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले रातो किताब भनेर चिनिने विनियोजन विधेयकको पुस्तक आइसकेको जानकारी दिए पनि टेबुल भएपछि सांसदहरुले प्राप्त गर्न नसकेको बानियाँको भनाइ छ। ‘सभामुख पनि सरकारसँगै मिल्नु भयो भन्ने सांसदहरुको गुनासो छ,’ उनले भने, ‘आजको व्यवहारले झन् यसलाई पुष्टि गरेको छ ।’ अधिकांश सांसदले सरकार र सभामुखको मिलेमतोमा ‘रातो किताब’ लुकाइएको आरोप लगाएका छन् । पुस्तक अध्ययनबिना संसद बैठक बढ्न नसक्ने भएपछि सभामुख श्रेष्ठले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । संसद सचिवालय स्रोतका अनुसार किताब २ दिनपछि मात्रै आउने भएको छ।

प्रतिक्रिया