
डा.डीआर उपाध्याय–
काठमाडौं, ११ जेष्ठ । केही समय अघिदेखि कोरोना महामारीले देश थलिएको अवस्था छ ।
कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरिएको र त्यसवाट उत्पन्न समस्याले देशको अर्थतन्त्र पनि कमजोर बनेको छ ।
अहिलेसम्म माहामारी नियन्त्रणमा आउन सकेको छैन ।
जसले गर्दा आम नागरिक चिन्तित बनेर बस्न बाध्य छन् ।
निषेधाज्ञा र यसबाट उत्पन्न समस्याले आज धेरैको रोजीरोटी खोसिएको अवस्था छ ।
बिहान बेलुकाको हात मुख जोडन समेत धेरैलाई धौ धौ भईरहेको छ ।
जनताको जनजीवन र अहिलेको अवस्था अत्यन्तै जटिल बन्दै गएको छ ।
जनताको समस्या समाधान गर्ने भन्दा पनि दलहरु आफनै स्वार्थमा केन्द्रित बनिरहेका छन् ।
आज देशको राजनीति सहि ढंगले अघि बढ्न सकिरहेको छैन ।
राजनीति सहि ढंगले अघि बढ्न नसक्दा देशमा धेरै समस्या उत्पन्न भईरहेका छन् ।
शक्ति र स्वार्थका लागी दल र तिनका नेताहरुले जे मन लाग्यो त्यही गरिरहेका छन् ।
नेताले जे गर्दा पनि नागरिक चुप लागेर बस्ने कारणले गर्दा नै राजनीतिमा यस्तो विकृती आएको हो ।
नागरिक जाग्न नसक्नु नै अहिलेको समस्या हो ।
अहिले राजनीति वृत्तमा जे देखिएको छ, त्यसले जनतामा निराशा उत्पन्न गराएको छ ।
महामारीमा नागरिकको जीउ ज्यान जोगाउनेतर्फ लाग्नुपर्ने समय सरकार र राजनीतिक दलको ध्यान अन्तै मोडिएको छ ।
जसका कारण कोरोना संक्रमण फैलिएको छ ।
बिरामीहरुको समयमा उपचार नपाएर ज्यान गएको छ ।
कोरोना महामारीको मौका छोपेर हरेक क्षेत्रमा बेतिथि बढ्न थालेको छ।
महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छट्पटाइरहेको समयमा कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरूको पनि यहाँ कुनै कमी छैन ।
मान्छेको असली रूप भनेको संकटका बेला परिक्षण गरिन्छ ।
महामारीले ज्यान जोगाउनसमेत हम्मे हम्मे परेको समयमा कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरूको बिगबिगी नै छ ।
निषेधाज्ञाले बजार पसल बन्द रहेको र कतै सीमित समय खुल्ने भएकाले व्यवसायीले उपभोग्य सामग्रीमा कृतिम अभाव सृजना गर्दै कालोबजारी गर्न थालेका समाचारहरु छयाप छयाप्ती आइरहेका छन् ।
अत्यावश्यक खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि भएको छ ।
संकटका समयमा उपभाक्तालाई दोब्बर मूल्यसमेत हालेर किन्न बाध्य पारिएको छ।
यति बेला सबै निकायको ध्यान महामारी नियन्त्रणमा छ ।
सस्तो मूल्यमा आयात गर्ने र अभाव भएको भन्दै महँगो मूल्यमा बेच्दा उपभोक्ता ठगिन बाध्य भएका छन् ।
केही जिल्लाका बजार पसलमा अनुगमन नभएका होइनन्, भइरहेका छन् तर बजार पसलमा अनुगमन नियमित हुन सकेको छैन ।
कालोबजारीले उपभोक्तालाई आर्थिक भार थपिँदो छ ।
प्रहरीको सक्रियतामा औषधिमा कालोबजारी गर्ने र नक्कली औषधि बेच्ने गिरोह पक्राउ परेका समाचार पनि आएका छन् ।
प्रहरीको सक्रियता नबढेको पनि होइन ।
कोरोना कहरको असरले भोकभोकै बसिरहेका नागरिकलाई कसरी राहत दिने र अत्यावश्यकीय वस्तुको सुलभ पूर्ति गर्ने विषयमा कुनै पनि राजनीतिक दल, अधिकारकर्मीको ध्यानाकर्षण भएको देखिँदैन ।
कालोबजारी गर्नेलाई कुनै कसर बाँकी नराखी कारबाहीको दायरामा ल्याउनु पर्छ ।
महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ ।
सरोकारवाला निकाय चनाखो र उपभोक्ता सचेत बनौं ।
प्रतिक्रिया