Pura Samachar

आरोप-प्रत्यारोप, विवाद र सत्ता समीकरण

प्रकाशित: June 1, 2021

आरोप-प्रत्यारोप, विवाद र सत्ता समीकरण

–डा.डिआर उपाध्याय

काठमाडौं, १८ जेष्ठ ।

नेपालमा पछिल्लो साता राजनीतिक सरगर्मी निकै बढेको छ ।

दलीय स्वार्थपूर्ण राजनीति र भागवण्डाका कारण सत्ताधारी गठबन्धनमा आएको विवाद उत्कर्षमा पुगेको छ ।

यतिबेला आम नागरिक कोरोना महामारीको संक्रमणको जोखिमबाट गुज्रिरहेका छन् ।

यस्तो बेलामा राजनीति गर्नु पटक्कै सुहाउने कुरा होइन ।

जनता रोएको बेला सत्ता स्वार्थको यो फोहोरि खेल बन्द हुनु पर्दथ्यो ।

अहिलेको यो बेला भनेको सबै मिलेर कोरोना बिरुद्ध लड्ने हो ।

सारा मान्छेको ध्यान कोरोना माहामारीतर्फ गइरहेका बेला दल र तिनका नेताहरुको ध्यान सत्तामा गएको देख्दा लाज लागेर आउँछ ।

जन प्रतिनिधिमूलक संसद विघटन र महामारीका समयमा स्वास्थ्योपचारलाई पन्छाउँदै निर्वाचनको घोषणा गर्नुले आम जनतामा नैराश्यता फैलिएको छ ।

यता बिपक्षी दलहरु यो बिषयलाई लिएर आक्रोशपूर्ण अभिब्यक्ति दिईरहेका छन् ।

व्यक्तिगत स्वार्थदेखि दलीय विवाद हुँदै दोस्रोपटक पनि पुनः प्रतिनिधिसभा विघटन भयो ।

यसले जनतामा राम्रो संकेत दिइरहेको छैन ।

राजनीतिक संकट, स्वास्थ्य संकट, आर्थिक संकट साथै मानवीय संकटका बीच फेरि चुनावको घोषणा गर्नुले दुनियाँलाई के सन्देश जान्छ ?

वर्तमान समयमा महामारी नियन्त्रणका लागि संयन्त्र, सामग्री र बजेट कै अपुग छ ।

अन्तर्राष्ट्रिय निकायसँग महामारी नियन्त्रणका लागि अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री, औषधि लगायतका सहयोगको हारगुहार गर्नु परेको छ ।

यस्तो बेलामा संसद बिघटन गरी चुनाव घोषणा गर्नु कुनै अर्थमा राम्रो मानिँदैन ।

संसद बिघटन र चुनाव अवैधानिक, असंवैधानिक कदम हुन् ।

संसद छिटो पुनःस्थापना हुनु पर्छ ।

यस्तो अवस्थामा अध्यादेशबाट बजेट ल्याइएको छ ।

बजेट कार्यान्वयन हुन धेरै जटिल छ ।

आज सबै कुरा छाडेर सत्ता समीकरणको सौदाबाजी हुँदैछ ।

सत्ता(स्वार्थ केन्द्रित यो खेलले समग्र व्यवस्था माथि नै खतरा उत्पन्न गरिरहेको छ ।

व्यक्तिगत, दलीय गुटगत स्वार्थ, आरोप प्रत्यारोप, विवाद र सत्ता समीकरणमा देखिएका कमीकमजोरीले व्यवस्थामाथि नै प्रहार हुने संकेत देखिएको छ ।

आज फेरि विधि र व्यवस्था जोगाउन प्रतिनिधिसभाका सांसदहरू अदालतको ढोकामा पुग्नु परेको छ ।

सरकारका एकलौटी निर्णय र संवैधानिक निकायहरूमा गरिएको भागवण्डा, सम्मानित संस्थामाथिको हस्तक्षेप र विवादले राज्यका संयन्त्रहरू कमजोर भएका छन् भने नागरिकमा चरम वितृष्णा र आक्रोस छाएको छ ।

कोरोना र राजनीतक संक्रमणको यो महाव्याधिमा सरकार जनता जोगाउने प्रयत्नमा लागेन ।

विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै जाने बेलामा फेरी दल र तिनका नेताहरु गल्ति दोहोराउँदै छन् ।

नेपाली जनताले कानूनी र विधिको शासन कायम गर्न, गराउन नयाँ संविधानको परिकल्पना, निर्माण र कार्यान्वयनमा साथ दिएका हुन् ।

दल र तिनका नेताहरुले जनतामाथि खेलवाड गर्ने काम गरिरहेका छन् ।

दुई तिहाईको सरकार बचाउन नसक्ने ओलीले फेरि किन चुनावको नाटक गर्दैछन् ?

यिनलाई किन चुनाव चाहिएको हो ?

त्यति ठूलो कम्युनिष्टको सरकार र त्यो अवसरलाई सदुपयोग गर्न नसक्ने ओलीले अब चुनाव गरेर के गर्लान ?

दुनियाँ एकातिर छ उनी चुनावको नौटंकी गर्दैछन् ।

प्रतिक्रिया