Pura Samachar

कस्तो होला अबको काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा? हेरफेर होला मोडालिटी?

प्रकाशित: June 1, 2021

कस्तो होला अबको काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा? हेरफेर होला मोडालिटी?

काठमाडौं : पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमितको सङ्ख्या घट्दै गएको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कले देखाएको छ। संक्रमितको सङ्ख्यामात्र होइन आरटी पीसीआर परीक्षण गर्ने दरमा पनि कमी आएको छ। परीक्षण र संक्रमित सङ्ख्या घट्दा काठमाडौं उपत्यकाभित्र पनि संक्रमितको सङ्ख्यामा कमी आएको छ।

संक्रमितको सङ्ख्या कमी आउँदा काठमाडौं उपत्यकाभित्र एक महिनादेखि जारी भएको निषेधाज्ञा खुल्ला? अथवा केही खुकुलो होला? आम मानिसले चासो राखिरहेका छन्। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको समय पर्सि अर्थात् जेठ २० गतेबाट सकिँदैछ। त्यसैले अब के होला भन्ने धेरैको लागि चासो विषय हो किनकि यतिखेर कोभिड १९ को इपिसेन्टर काठमाडौं नै हो।

अहिले काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा कसरी लैजाने भन्ने विषयमा सम्बन्धित निकायहरुसँग छलफल सुरु भइसकेको छ। जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको आज दिउँसो बैठक बस्दैछ यसैैक्रममा। यस बैठकपछि तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसबारे निर्णय गर्नेछ।

दिउँसो १ बजेलाई डीसीसीएमसीको बैठक बोलाइएको काठमाडौं जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्। ‘आज दिउँसो बैठक बस्छ। त्यसपछि निषेधाज्ञा कति थप गर्ने भन्ने विषयमा सीडीओहरुको बैठकले निर्णय गर्ने छ। यस पटकको निषेधाज्ञा केही खुकुलो हुनसक्छ,’ सहायक सीडीओ नेपालले भनिन्।

यसअघि थपिएको एक साताको लागि थपिएको निषेधाज्ञा प्रशासनले कडा बनाएको थियो। खाद्यान्न जस्तो आवश्यक भएका किनारा तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गरिएको थियो। त्यस्तै, जिल्ला प्रशासनबाट जारी भएका सबै पासहरु खारेज गरेर सरकारी कार्यालयमा आवतजावत गर्ने कर्मचारीहरुलाई पनि निश्चित समय तोकिएको थियो।

यसपटक थप गर्ने निषेधाज्ञा भने केही खुकुलो हुने सम्भावना छ तर कुन कुन क्षेत्रलाई खुकुलो बनाउने भन्ने छलफल भइरहेको सहायक सीडीओ नेपालले बताइन्। ‘खाद्यान्य तथा निर्माण लगायत केही क्षेत्रमा खुकुलो नीति बनाएर निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको छ,’ नेपालले भनिन्।

काठमाडौं उत्यकाभित्र कोरोना संक्रमित थपिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो। पहिलो पटक साता दिन निषेधाज्ञा गरीएको थियो। वैशाख २२ गतेपछि दुई साताको लागि निषेधाज्ञा गरियो। त्यसपछि एक साता निषेधाज्ञा गरिएको थियो। यस पटक पनि एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

‘एक सातासम्म थपिन सक्नेछ। केही क्षेत्रलाई खुकुलो हुनसक्छ,’ प्रजिअ भट्टराइले भने।

पछिल्लो समय थपिएको निषेधाज्ञामा विवाहमा समेत उपस्थित मानिसको सङख्या १० बाट घटाएर ७ मा पुर्‍याइएको थियो। मानिसको सडकमा हिँड्डुल गर्न समेत कडाई गरिएको थियो। मर्निङ र इभिनिङ वाकको नाममा घरबाट निस्किनेलाई समेत कारबाही गरिएको थियो।

काठमाडौं उपत्यकाभित्र मात्र होइन अहिले देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ।

प्रतिक्रिया