Pura Samachar
  • विद्युतको महसुल अनलाइनबाट तिर्न प्राधिकरणको आग्रह

    प्रकाशित: जेष्ठ १८, २०७८

    विद्युतको महसुल अनलाइनबाट तिर्न प्राधिकरणको आग्रह

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरुलाइ मिटर रिडिङ, बिलिङ तथा महसुल भुक्तानी अनलाइन माध्यम प्रयोग गर्न आग्रह  गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै निषेधाज्ञाका कारण मिटर रिडिङका लागि घरघरमा कर्मचारी पठाउन नसकेको भन्दै अनलाइन विधि प्रयोग गर्न आग्रह गरेको हो।

    बिल प्राप्त गर्न  प्राधिकरणको सम्बन्धित वितरण केन्द्र वा हटलाइन ११५० मा सम्पर्क गरी आफ्नो मिटर अंक टिपाउन सकिने छ। अथवा https://consumer.nea.org.np मा लग इन गरी प्राप्त निर्देशन अनुसारका विवरणहरु भरेर मोबाइलबाट प्राधिकरणको एन्ड्रोइड एपमार्फत् आफैं मिटर हेरेर महसुल निर्धारणका लागि पठाउन सकिन्छ। त्यस्तै नजिकका विद्युत कार्यालयमा फोन गरेर मिटरमा चढेको अंक टिपाएर बिल प्राप्त गर्न सकिन्छ।

    प्रत्येक महिना बिजुली खपत भएको बिल प्राप्त भएपछि महसुल घरबाटै अनलाइनमार्फत् बुझाउन सकिन्छ। विद्युत प्राधिकरणबाट स्वीकृत इसेवा, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, पे प्वाइन्ट नेपाल, आइएमइ पे, खल्ती, सीएसएस रेमिट लगायत सेवा प्रदायकहरुमार्फत महसुल भुक्तानी गर्न सकिन्छ।

    तीनवटै विधिबाट मिटर रिडिङ नगरे/ नगराएको खण्डमा प्राधिकरणले  ग्राहकहरुको यस अघिको खपतलाई आधार बनाइ बिलिङ गर्नेछ। बिलिङ सम्बन्धी जानकारी एसएमएसबाट उपलब्ध गराउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। उनका अनुसार एसएमएस सेवाका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको छ।

    करिब ५० हजार स्मार्ट मिटर बाहेकको ग्राहकको तथ्यांक प्राधिकरणसँग छैन। एसएमएस पठाउनका लागि ग्राहकको मोबाइल नम्बर आवश्यक भएकाले नम्बर उपलब्ध गराउन आग्रह गरिएको छ। प्राधिकरणको  वेबसाइट www.nea.org.np मा राखेको केवाइसी फारम अपडेट गरेर, प्राधिकरणको स्थानीय कार्यालयको टेलिफोनमा वा हटलाइन ११५० मा सम्पर्क गरेर नम्बर उपलब्ध गराउन भनिएको छ।

    प्राधिकरणले कार्यालयमा भौतिक रूपमा उपस्थित हुँदा महामारीका बेला संक्रमण फैलने जोखिम उच्च भएकाले फोन सम्पर्क गरी सेवाहरु लिन ग्राहकहरुलाई अनुरोध गरेको छ।

     

    प्रतिक्रिया