
काठमाडौं– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घर–घरमा पिसिआर परीक्षण गर्ने भएको छ ।
नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।
पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव सङ्कलन गर्न लागेको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो ।
‘गत बुधबारदेखि पिसिआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाब सङ्कलन गर्न लागेको हौं’, उहाँले भन्नुभयो ।
स्वाब सङ्कलनको रकम अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ ।
पिसिआर परीक्षणको रिपोर्ट भने इमेलमार्फत सम्बन्धित व्यक्तिमा पुर्याउने व्यवस्था मिलाइएको जनाइएको छ ।
अस्पतालले पिसिआर परीक्षणका लागि एक हजार ५०० रुपैयाँ शुल्क तोकेको छ ।
यस्तै, बिरामीको घरमा पुगेर स्वाब लिएमा सेवा बापत थप पाँचय सय लाग्नेछ ।
सरकारले दुई हजारसम्म पिसिआर परीक्षणका लागि शुल्क तोकेपनि अस्पतालले सरकारले तोकेको दरभन्दा कम शुल्कमा परीक्षण गर्न लागेको हो ।
सहुलियत दरमा पिसिआर परिक्षण सेवा यही जेठ ३१ गतेसम्म प्रदान गर्ने र अस्पतालमा पिसिआर आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने जनाइएको छ ।
‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अत्याधुनिक मेसिनबाट एक पटकमा ९६ को स्वाब परीक्षण गर्न मिल्नेछ ।
परीक्षण प्रयोगशाला जडानसँगै अब बिरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानु नपर्ने भएको छ ।
स्वाब् सङ्कलन गरेको ५ देखि ६ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ ।
उक्त प्रयोगशालामा कोभिडबाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्नेछ ।
आगामी दिनमा बिरामीको चापअनुसार पिसिआर परीक्षण सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।
विस २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।
प्रतिक्रिया