
काठमाडौं– अन्तत: भारतमा अघिल्लो महिनादेखि नै महामारीको रुप धारण गरिसकेको कालो ढुसी (ब्ल्याक फंगस)अर्थात म्युकरमाइकोसिस औपचारिक रुपमा नेपालमा समेत भित्रिएको छ ।
खासगरी कोरोना भाइरसको संक्रमणबाट गम्भिर रुपले पीडित भएर अस्पतालबाट निको भएर घर फर्किएका बिरामीहरुमा संक्रमणमुक्त भएको केही सातापछि ब्ल्याक फंगसको संक्रमण हुन थालेको छ ।
भनिन्छ, नेपालको वीरगञ्जमै यो रोगबाट तीन जना बिरामीको निधन भैसकेको छ ।
वीरगञ्जमा ब्ल्याक फंगसका बिरामी बढ्दै गएपछि नेपालमा उपचार असम्भव भएकाले केही बिरामीहरुलाई उपचारका लागि भारत पठाइएको समेत बताइएको छ ।
नारायणी अस्पतालले जनाए अनुसार वीरगञ्जमा ८ जनामा ब्ल्याक फंगस पुष्टि भएकोमा तीन जनाको निधन भएको हो ।
यता, काठमाडौंमै पनि बुधवार केही बिरामीमा ब्ल्याक फंगस देखिएको पुष्टि भएको छ ।
काठमाडौंका वीर अस्पतालमा दुई, नर्भिकमा एक, शिक्षण अस्पतालमा दुई जनामा यो पुष्टि भएको बताइन्छ ।
यसैबीच, कलाकर्मीले तीलगंगा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा.रोहित सैंजु लाई सम्पर्क गरेर नेपालमा भित्रिएको भनिएको कालो ढुसी अर्थात ब्ल्याक फंगस कस्तो प्रकारको संक्रमण हो ? यसले आँखा लगायत सम्पूर्ण शरीरमा के कस्तो प्रभाव पार्छ ? यसबाट कसरी जोगिन सकिन्छ ? भन्ने विषयमा कुराकानी गरेको छ ।
कुराकानीको सम्पादित अंश :
कलाकर्मी : ब्ल्याक फंगस कस्तो प्रकारको संक्रमण हो ? यसले आँखामा के कस्तो प्रभाव पार्छ ?
डा.रोहित सैंजु : वास्तवमा यो एक प्रकारको फंगसको स्वरुप हो । यसलाई म्यूकरमाइकोसिस भनिन्छ । वास्तवमा यो फंगस हाम्रो वरिपरि हावामै छन् । हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहने छन् । यी फंगसहरु खासगरी चिसो, ओसिलो र फोहोर ठाउँमा लुकेर बसेका हुन्छन् । उनीहरुको अनुकूल हुने मौका पाउनासाथ हाम्रो शरीरमा प्रवेश गर्छन् । अरु बेला यिनीहरु एक प्रकारको खोल जस्तोमा लुकेर बसेका हुन्छन् । बाहिरको हावा, तापक्रम आफूलाई सुहाउँदो नभएसम्म यिनीहरु खोलभित्र लुकेर बसेका जस्तो हुन्छन्, आफ अनूकुल हुने बित्तिकै यिनीहरु सक्रिय हुन थाल्छन्, त्यसपछि मानव शरीरमा प्रवेश गरेर शरीरका विभिन्न अंगहरु बिगार्न थाल्छन् ।
यो फंगसले शरीरको कुन अंगमा सबैभन्दा पहिला प्रभाव पार्छ ?
डा.सैंजु : सर्वप्रथम यिनीहरु नाकको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छन् । त्यसैले अहिले हामीले जति बेला पनि माक्स लगाउनु पर्ने बाध्यता आइपरेको छ । कोभिडमात्र होइन, यो फंगसबाट जोगिन समेत हामीले मास्क लगाइरहनु पर्ने भएको छ । नाकबाट भित्र प्रवेश गरेको फंगसलाई नाकमै रोक्न सकिएन भने यो बिस्तारै माथि सरेर आँखासम्म पुग्छ । यसलाई आँखामै रोक्न सकिएन भने यो तिब्र गतिमा हाम्रो दिमागसम्म पुग्छ । यदि यो फंगस मानिसको दिमागसम्म पुग्यो भने बिरामीलाई बचाउन निकै नै गाह्रो हुन्छ ।
भन्नाले यो आँखासम्म मात्र सिमित हुँदैन ?
डा.सैंजु : नाकबाट प्रवेश गरेको यो फंगसलाई हामीले सकेसम्म नाकमै रोक्ने प्रयास गर्नु पर्छ । नाकमा रोक्न नसकेपछि यो साइनसबाट (पिनास थैली) हुँदै आँखासम्म पुग्छ । त्यहाँ पनि रोक्न सकिएन भने यो दिमागसम्मै पुग्छ र मानिसका लागि प्राणघातक बन्छ । त्यसैले यो फंगसका लागि आँखा त एउटा स्टेशन जस्तो मात्र हुन्छ । समयमै उपचार गरिएन भने यो आँखाबाट निकै छोटो समयमा दिमागसम्म पुग्छ र बिरामीलाई गम्भिर बनाउँछ । यसबाहेक यसले छालालाई पनि बिगार्न सक्छ । फोक्सोतिर गयो भने निमोनिया हुन्छ । त्यसपछि इन्टर्नल मेडिसिनले यसको उपचार गरिन्छ । पेटमा गयो भने पाचन प्रणालीलाई बिगार्छ । रगतमार्फत पुरै शरीरलाई नराम्रो प्रभाव पार्न सक्छ ।
ब्ल्याक फंगसले कोरोना संक्रमणबाट मुक्त भएका मानिसलाई बढी संक्रमित गराउने कारण के होला ?
डा.सैंजु: ब्ल्याक फंगसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई आक्रमण गर्छ । प्रतिरोधक क्षमता बलियो भएका व्यक्तिलाई यसलाई केही पनि गर्न सक्दैन । कोभिडबाट मुक्त भएका बिरामीहरुमा प्रतिरोधक क्षमता कमजोर हुन्छ, त्यसकारण पनि यो फंगसले उनीहरुलाई टार्गेट बनाइरहेको छ ।
नेपालमा यो भित्रिने अनुमान गरिएको थियो ?
डा.सैंजु: हामी चिकित्सकहरुले करिव एक महिनाअघि नै भारतबाट यो संक्रमण नेपालसम्म आइपुग्छ भन्ने अनुमान गरेका थियौं । भारतमा एक महिनाअघि कोभिड पिकमा पुगेको बेला अक्सिजन र बेडको अभाव भएर हाहाकार मच्चिएको थियो, केही साताअघि नेपालमा ठिक त्यही दृष्य देखियो । त्यसैगरी भारतमा संक्रमणमुक्त भएकाहरुलाई ब्ल्याक फंगसले सताउन थाल्यो, ढिलो छिटो नेपालमा पनि यो समस्या आउँछ भन्ने हाम्रो अनुमान थियो, नभन्दै आयो । वीरगञ्जबाट देखिन थालेको यो फंगस आज काठमाडौंमै देखिएको छ । यसको महामारीको सुरुवात भएको छ । अब यसलाई कसरी व्यवस्थित तरिकाले उचार गर्ने भन्ने ठूलो चूनौती छ । वास्तवमा यसको उपचार कोभिडका बिरामीको उपचार भन्दा गाह्रो हुन्छ ।
कसरी ?
डा.सैंजु : कोभिडका बिरामीमा एक प्रकारको उपचार गरिन्थ्यो भने ब्ल्याक फंगसबाट संक्रमित बिरमाीहरुलाई नाक, कान, घाँटी (इएनटी), आँखा, न्यूरो सर्जन, एनेस्थेसिया आदि चिकित्सकहरुको समुहले नै उपचार गर्नु पर्ने हुन्छ । यद्यपि, यसको सुरुवात मै निदान गर्ने काम भने कि त ईएनटी चिकित्सकले गर्न सक्छ कि त नेत्ररोग विशेषज्ञले गर्न सक्छ । उहाँहरुलाई नै यो म्यूकर माइकोसिस हो भन्ने थाहा हुन्छ ।
यदि चिकित्सकले यो म्यूकरमाइकोसिस हो भन्ने पत्ता लगाउनु भयो भने त्यसले जुन जुन भागमा संक्रमण गरेको छ, त्यो भाग काटेर फाल्नै पर्छ, खुर्किनै पर्छ, नत्र यो बढेको बढ्यै हुन्छ । यो छिट्टै बढ्दै जान्छ र छिटै माथितिर फैलिन्छ । नाक भित्रबाट प्रारम्भ भएर आँखासम्म पुग्छ । यसका लागि एउटा एम्फाटेरिसिन बि भन्ने औषधि हुन्छ, त्यसको अहिले नेपालमा हाहाकार छ । त्यही औषधीले त्यो फंगसलाई वास आउट गर्ने हो । त्यो औषधी नशाबाट दिन सुरु गरिहाल्नु पर्छ ।
कोरोनामुक्त भएका बिरामीमा रोग प्रतिरोधक क्षमता कम गराउने तत्व के के हुन् ?
डा.सैंजु : कोरोनाका गम्भिर बिरामीहरुलाई उपचारको क्रममा स्टोरोइडलाई रामवाण मानिन्छ । यद्यपि, यो औषधि संक्रमणको प्रारम्भिक चरणमै, लामो समयसम्म, डाक्टरको परामर्शबिना तथा हाइडोज दिइयो भने त्यसले बिरामीको रोग प्रतिरोधक क्षमता कम गराउँछ । बिरामीलाई कमजोर बनाउँछ । त्यसैले कोरोनामुक्त भएका बिरामीमा प्रतिरोधक क्षमता कम हुन्छ । मधुमेहका बिरामीमा पनि फंगसको संक्रमण हुने देखिएको छ । उनीहरुमा पनि प्रतिरोधक क्षमता कम हुन्छ । त्यसैले कोरोनामुक्त भएका तथा मधुमेहका रोगीमा एक–आपसमा सम्बन्धित जस्तो देखिन्छन् ।
ब्ल्याक फंगस भारतमा मात्र र त्यसपछि नेपालमा देखिने कारण के होला ?
डा.सैंजु : कोभिड संसार भरी छ भन्ने कुरा हामीलाई थाहा छ । तर, ब्ल्याक फंगस भारत तथा नेपालमा मात्र छ, यूरोप अथवा एसिया प्यासिफिकमा छैन । यसबाट के बुझ्नु पर्छ भने यो हाम्रो मेडिकल सिष्टमकै कमजोरी हो । जस्तो, भारतमा कोभिडका बिरामीहरुलाई मेडिकल अक्सिजनको साटो इन्ड्रष्ट्रियल अक्सिजन प्रयोग गरिएको कुरा आएको थियो, वेल्डिङका लागि प्रयो गरिने अक्सिजन कति प्यूरिफाइड हो, थाहा हुँदैन । त्यसबाहेक अक्सिजन दिने क्रममा पानीको प्रयोग गरिन्छ, त्यो पानीको सुद्धताको कुरा आउँछ । त्यो पानी पटक पटक परिवर्तन गरिरहनु पर्छ । यहाँ त एउटा बिरामी मर्यो भने त्यो अक्सिजन मास्क र उक्त पानी राम्ररी सफा गर्न समेत नभ्याउँदै कुरिरहेको अर्को बिरामीलाई त्यही अक्सिजन लगाइन्छ । त्यसले पनि ब्ल्याक फंगसको संक्रमण बढाएको हुनसक्ने चिकित्सकहरुको ठम्याइ छ ।
ब्ल्याक फंगस सरुवा रोग हो कि होइन ?
डा.सैंजु: यो सरुवा रोग होइन, यो एक मानिसबाट अर्कोमा सर्दैन । यो त अहिले हामी बसिरहेको ठाउँमा पनि हुन्छ, तर निष्कृय भएर बसको हुन्छ । किनभने स्वस्थ्य मानिसले त्यसलाई सजिलै मार्न सक्छ । हामी त्यो भन्दा बलियो छौं । तर, जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, यो फंगसले उसैलाई आक्रमण गर्ने हो । यसले नाकबाट शरीर भित्र छिरेर आक्रमण गर्न थाल्छ ।
यो कत्तिको खतरनाक हुन्छ ?
डा.सैंजु : प्रतिरोधक क्षमता कमजोर भएकाहरुलाई यो फंगसको संक्रमण भयो भने अति नै खतरनाक हुन्छ । भारतमा यसका कारण हजारौं बिरामीको ज्यान गैसकेको छ । मैले चिनेका भारतीय चिकित्सकहरु, जो यूपि, बनारसमा कार्यरत छन् । उनीहरुसंगको कुराकानीको क्रममा दिनमै तीन वटा, चार वटा केश गरें भनिरहेका हुन्छन् । उनीहरुलाई नै आच्छु आच्छु बनाएको छ । तत्काल उपचार गरेन भने विरामीको निधन निश्चत छ । किनभने यसले नाकबाट प्रवेश गरेर मासुहरु कुवाउँदै माथि माथितिर जान्छ । दिमागसम्म पुगेपछि यसको उपचार प्राय: असम्भव जस्तै हुन्छ । बेलैमा उपचार भएन भने बिरामीलाई जोगाउनै गाह्रो हुन्छ । यसको मृत्युदर नै ९० प्रतिशत छ ।
यसको लक्षणहरु के-के हुन् ? कसरी थाहा पाउने ?
डा.सैंजु: मैले अघि नै भनें, यसको संक्रमण नाकबाट प्रारम्भ हुन्छ । सर्वप्रथम त यसबाट नाक बन्द हुन्छ । नाकबाट रगत जस्तो कालो पदार्थ बग्न थाल्छ । टाउको दुख्छ । आँखा दुख्छ । अनुहारको आधा भाग दुख्छ । अनुहार सुन्निएको जस्तो हुन्छ । कालो-कालो प्याचहरु देखिन थाल्छ । आँखासम्म पुगेपछि आँखा नै बाहिर आएको जस्तो हुन्छ, आँखा रातो हुन्छ । आँखा चल्नै छाड्छ । दृष्टि पनि कम हुँदै जान्छ । आँखाबाट माथि दिमागसम्म पुग्यो भने मान्छे कोमामा जाने पनि हुन्छ ।
कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुन सक्छ । अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिङ्गान आउने, दाँत दुख्ने वा हल्लिनेजस्ता लक्षण देखा पर्छ ।
त्यसैले यसको प्रारम्भिक चरण अर्थात नाकमै भएको बेला समात्न सकियो भने र त्यहाँबाट यसलाई पूर्ण रुपमा बाहिर निकाल्न सक्यो भने यो त्यहाँभन्दा माथि फैलिन पाउँदैन । नाकबाट माथि पुगेको छ भने उपचार नै जटिल हुन्छ । तुरुन्त उपचार भयो भने औषधिले पनि यसलाई ठिक गर्न सकिन्छ ।
डरलाग्दो कुरा के छ भने यसको एक मात्र औषधि भनेको एम्फाटेरिसिन बि हो, जुन नेपाली बजारमा उपलब्ध छैन भनिएको छ । नेपाली बजारमा अलि अलि भएको यो औषधि पनि भारततर्फ निकासी भैसकेको भन्ने सुन्नमा आएको छ । भरखरै मात्र सरकारले बंगलादेशबाट दश हजार भाइल झिकाउने भन्ने सुनिएको छ । ठूला अस्पतालमा यी औषधीहरु स्टक गरेर राख्नु पर्छ, ताकि बिरामीहरु आउने बित्तिकै लगाउन सकियोस् ।
यसबाट बच्नका लागि के-के गर्न सकिन्छ ?
डा.सैंजु : ब्ल्याक फंगसबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नुपर्दछ । यस्तै पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी एन्टिवायोटिक औषधि सेवन नगर्ने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्दछ ।
अन्त्यमा, के भन्न चाहन हुन्छ ?
डा.सैंजु : यदि कोभिडमुक्त भएर घर आएको ३–४ हप्ता भित्र माथि भनिएका जस्ता समस्या देखियो भने तुरुन्तै आफ्नो नजिकका ठूला अस्पताल, जहाँ इएनटी, आँखा, स्नायू, आईसीयू सबै सुविधाहरु छन्, ती अस्पताल जानु पर्छ । काठमाडौंका वीर अस्पताल, टिचिङ अस्पताल आदि ठूला अस्पताल जानु पर्छ । म यहीँबाट लक्षण देखिएका विरामीहरुलाई तुरुन्त ठूला अस्पताल जान आग्रह गर्दछु । अन्त्यमा, यो फंगसबाट जोगिनका लागि हरेक समय मास्क लगाइरहन आग्रह गर्दछु । सरसफाइमा विशेष ध्यान दिनु पर्छ । हेल्थ र हाइजिनमा सकेसम्म बढी ध्यान दिनु पर्छ ।
प्रतिक्रिया