
लण्डन– बेलायतको डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा.सुधिर लोहनीले जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।
पत्रपत्रिकाबाट
‘सङ्क्रमित भइहालियो भने डराउनु भएन, डा. लोहनीले भन्नु भएको छ–‘हल्का लक्षण देखिएकाहरू अस्पताल जानै पर्दैन ।’
डा.लोहनीका अनुसार सन्तुलित आहार, प्रशस्त झोलिलो कुरा र शरीरलाई चलायमान राख्न सकियो भने कोरोना निश्चित अवधिपछि आफैँ हराएर जान्छ ।
‘सन्चो छैन भनेर सुतेर बस्यो भने झन् गलाउँछ, डा.लोहनीको सुझाव छ–‘त्यसैले श्वासप्रश्वाससम्बन्धी अभ्याससँगै कोठाभित्रै, भऱ्याङ वा बगैँचामा हिँड्डुल र कसरत अनिवार्य गर्नुपर्छ ।’
उहाँका अनुसार शरीर चलायमान नहुँदा शरीर कमजोर भएर जटिलता आउने सम्भावना रहन्छ ।
सक्रिय नहुँदा निमोनिया हुने, रगत जम्नेजस्ता समस्या हुन सक्छन् ।
सामान्य लक्षण भएकाले खासै औषधि लिनुपर्दैन तर खोकी छ भने मह उपयोगी हुन सक्छ ।
कुनै पनि भाइरसको एउटा निश्चित समय हुन्छ, त्यसपछि उसको सक्रियता रहँदैन र यो रुघाखोकी जस्तै ।
तर, कहिलेकाहीँ सङ्क्रमणको तह बढी हुँदा शरीरलाई कमजोर बनाउने, मांशपेसी, छाती दुख्ने, बेहोस हुने, ज्वरो नियन्त्रण नहुने र श्वास फेर्नसमेत कठिन हुन्छ ।
यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार अगाडि बढनुपर्ने चिकित्सको सुझाव छ ।
डा. लोहनी भन्नुहुन्छ–‘तथ्यले ८० प्रतिशत मानिसलाई हल्का लक्षण देखाएको र ४० प्रतिशतले थाहा नपाएको स्थिति छ । त्यसैले आत्तिनु हुँदैन ।’
कोरोना लागिसकेका २५र३० प्रतिशत बिरामीलाई दीर्घकालीन असर देखिएको छ ।
विशेषगरी फोक्सोमा असर हुनाले श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीर कमजोर हुने, थाक्ने, नसासम्बन्धी समस्या हुने र छाती दुख्ने समस्या पछिसम्म रहेको पाइएको छ ।
त्यसैले कोरोना पुनस्र्थापना केन्द्र बनाउन जरुरी छ ।
बेलायतमा यस्ता सेन्टरमार्फत बिरामीले सेवा लिइरहेको भन्दै डा. लोहनी थप्नु हुन्छ–‘ नेपालमा विभिन्न स्थानमा यस्ता सेन्टर बनाउनु आवश्यक छ । यससँगै रोग लागिसकेपछि र दीर्घ फिजियोथेरापीलाई बिरामीको अवस्था हेरेर प्रयोग गर्न सकिन्छ । यसले भविष्यमा निम्त्याउन सक्ने स्वास्थ्य जटिलतालाई ठीक गर्नेछ ।’
भाइरसको प्रवृत्ति नै फैलिने भएकाले भीडभाड हुने स्थलबाट यो चाँडो फैलिन्छ ।
नेपाललगायत भारतका बजार बढी नै भीड हुने र मेला, विवाह, भोजलगायत हुने भएकाले पनि यहाँ सङ्क्रमण बढी हुन सघाउ पुग्यो ।
विशेष गरेर कमजोर, वृद्धवृद्धा, दीर्घरोगीलाई बढी असर गरे पनि पछिल्लो समयको नयाँ भाइरसले युवालाई बढी असर गरेको देखिन्छ ।
युरोपलगायतका विकसित र स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशले पनि पहिलो चरणमा ठूलो मानवीय क्षति बेहोर्नुपरेको स्मरण गर्दै डा.लोहनी सरकारले उपचारको प्रत्याभूति गराउन सक्नुपर्ने सुझाव दिनुहुन्छ ।
नेपालमा कोरोना उपचारमा सुधार देखिन थालेको छ र सफलता प्राप्त गर्दैछ ।
बिरामी अस्पताल जान पाएको अवस्था छ ।
नयाँ रोग भएकाले सुरुमा केही अलमल भए पनि नेपालले उपचारमा राम्रो गर्दैछ ।
यद्यपि नेपालमा औषधिको प्रोटोकल बनाए एकरूपता भने ल्याउन जरुरी छ ।
अध्ययन अनुसन्धान गरेर पनि औषधिको प्रयोग आवश्यक भएको भन्दै उहाँ थप्नुहुन्छ–‘वास्तवमा यो औषधिको अध्ययन गर्ने अवसर पनि हो, जुन पछिलाई प्रभावकारी हुन्छ । यसबाहेक सरकारले सबै तह र तप्कालाई स्वास्थ्य सेवा दिन सक्छ भन्ने प्रत्याभूतिको पनि वातावरण बनाउनुपर्छ ।’
यो समाचार गोरखापत्रमा प्रकाशित छ ।
प्रतिक्रिया