Pura Samachar

कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट हुने सम्भावना कम

प्रकाशित: June 9, 2021

कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट हुने सम्भावना कम

विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने बताएका छन् ।

बुधबार रातोपाटीसँग कुराकानी गर्दै सदस्यसचिव अर्यालले कक्षा १२ को परीक्षाको मोडालिटीका सम्बन्धमा छलफल भइरहेको र यसबारे असार १५ गतेपछाडि मात्रै निर्णय हुने बताए ।

 

उनले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम परीक्षा हो । त्यसकारण यसलाई अलि विशेष रूपले हेर्नुपर्ने हुन्छ । हामी परीक्षा कसरी लिने भन्ने सम्बन्धमा छलफल गरिरहेका छौँ । यसका लागि अब कम्तीमा असारको १५ गतेसम्म कुर्नुपर्ने हुन्छ । त्यसपछि हामी कुन मोडालिटीमा कसरी परीक्षा लिने भनेर निर्णय गर्नेछौँ ।’

कक्षा १२ को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने सम्भावना कति छ भन्ने रातोपाटीको प्रश्नमा सदस्यसचिव अर्यालले यसलाई फरक रूपले हेर्नुपर्ने बताए । अर्यालले भने, ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम कक्षा र परीक्षा हो । कक्षा १२ पछि नै विश्वविद्यालयको पढाइ सुरु हुने, एमबीबीएस, बीएससी नर्सिङ लगायतका उच्च शिक्षा तथा विदेशमा अध्ययनका लागि जाने भएकाले क्वालिटी कन्ट्रोलको विषय पनि हुन्छ । त्यसकारण आन्तरिक मूल्याङ्कनबटै नतिजा प्रकाशन गर्ने कुरा केही जटिल छ । यद्यपि हामी यतिबेला परीक्षाको मोडालिटीको सम्बन्धमा छलफल गरिरहेका छौँ ।’

 

प्रतिक्रिया