Pura Samachar
  • गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का

    प्रकाशित: ६ दिन पहिले

    गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का

    काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद एवं कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का भएको छ।

    शुक्रबार कांग्रेस सहितको विपक्षी गठबन्धनले प्रदेश प्रमुख सीता पौडेल समक्ष नेपालीको नेतृत्वमा सरकार बनाउने दावी पेस गरेसंगै विपक्षी गठबन्धनको सरकार बन्ने पक्का भएको हो। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेलले मुख्यमन्त्री पदका लागि दावी पेश गरेका हुन।

    मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले गत वैशाख २९ गते मुख्यमन्त्री पदको सपथ खुवाएकी थिईन। संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक प्रावधान अनुसार संविधानको धारा १६८ को उपधारा ४ बमोजिम गुरुङले बिहिवार संसदमा बिश्वासको मत लिनका लागि प्रस्ताव गरे तर विश्वासको मत प्राप्त गर्न सकेनन।

    यसरी गुरुङले बिश्वासको मत गुमाएसँगै उपधारा ५ बमोजिम पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन। प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार २४ घण्टाको समय सिमा दिएर दावी पेस गर्न आह्वान गरेसँगै विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई समर्थन गरी बहुमतको दाबी पेस गरेको हो।

    सरकार गठनका लागि गण्डकीमा विपक्षी गठबन्धनले कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र दिपक मनाङे १ गरी ३१ जना सांसदको हस्ताक्षर गरि प्रदेश प्रमुखलाई बुझाएको छ। कुल ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसदको समर्थन आवश्यक पर्दछ।

    प्रतिक्रिया