Pura Samachar

खोप लगाएका व्यक्तिको शरीरमा चुम्बकीय गुण हुने कुराको वास्तविकता

प्रकाशित: June 13, 2021

खोप लगाएका व्यक्तिको शरीरमा चुम्बकीय गुण हुने कुराको वास्तविकता

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि यतिबेला विश्व नै यसविरुद्धको खोपप्रति आशावादी बनिरहेको छ ।

विश्वका अधिकांश देशहरुमा अहिले कोरोनाविरुद्धको खोप लगाउने लहर नै जारी छ ।

तर, केही खोपविरोधी तत्वहरु भने खोपबारे विभिन्न प्रकारका भ्रमहरु फैलाउन सक्रिय छन् ।

यतिबेला सामाजिक सञ्जाल, खासगरी टिकटकमा कोरोनाको खोप लगाउने व्यक्तिको शरीरमा चुम्बकीय शक्ति बढ्छ भन्ने दावी गरिएका भिडियो पोस्ट हुने क्रम बढेको छ ।

भारतबाट प्रारम्भ भएको यो खोपविरोधी भिडियोले आम सर्वसाधारणमाझ खोपप्रति भ्रम अथवा अविश्वास पैदा गर्न सक्छ ।

भारतको नासिकका एक जना व्यक्तिले शरीरमा चम्चा, सिक्का आदि टाँसिरहेको भिडियो भाइरल भएको हो ।

उनले कोरोनाको खोप लगाएपछि शरीरमा चुम्बकीय शक्ति आएका दावी गरेका छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सामग्रीमार्फत कोरोनाविरुद्ध खोप लगाएपछि शरीर चुम्बकीय नबन्ने बताएको छ ।

मन्त्रालयले भनेको छ –‘कोभिड–१९ का खोपहरुमा कुनै प्रकारको धातु अथवा माइक्रोचिपहरु हुँदैन । त्यसैले यस्ता अफवाहहरुको विश्वास नगरौं । कोभिड–१९ को खोप सुरक्षित छ र प्रभावकारी छ । यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन ।’

विशेषज्ञहरुले समेत उक्त दावीलाई अस्विकार गर्दै त्यसलाई केवल भ्रम भएको बताएका छन् ।

विशेषज्ञहरु भन्छन्–कोरोनाबाट बचाउनका लागि खोप नै एक मात्र हतियार हो ।

यद्यपि, केही मानिसहरु भने यही खोपविरुद्ध भ्रम फैलाउनमा उद्यत छन् ।

केही मानिसहरु खोप र खोप विरुद्ध भ्रम फैलाउने कार्यमा सक्रिय छन् ।

भारतकै कतिपय गाउँहरुमा खोप लगाएपछि बिरामी परिन्छ भन्ने भ्रम फैलाइएको छ भने कतिपय गाउँमा कोरोनाविरुद्धको खोप लगाएपछि ज्यान नै जान्छ भन्ने भ्रम समेत फैलाइएको छ ।

नासिकका ती व्यक्तिको शरीरमा चम्चा लगायतका वस्तु टाँसिएको भिडियो हेरेपछि नासिक जिल्ला अस्पतालका सिभिल सर्जन डा.अशोक थोरातले उक्त कुरामा विश्वास गर्न नसकिने बताएका छन् ।

‘यद्यपि, उक्त भिडियोका वास्तविकका बारेमा अनुसन्धान गरेर वास्तविक बाहिर ल्याइनु पर्दछ, उनले भनेका छन् ।

उक्त भिडियोलाई भारत सरकारले समेत पूर्ण रुपमा खारेज गर्दै त्यसलाई केवल भ्रम भएको प्रतिक्रिया दिएको छ ।

वैज्ञानिकहरुका अनुसार कतिपय मानिसहरुको शरीरको चुम्बकीय गुणका कारण यसरी फलामजन्य तत्वलाई आकर्षित गर्दैनन् ।

यद्यपि, त्यस्ता मानिसको शरीरमा केही विशेष पक्षहरु हुन्छन्, जस्तो उनीहरुको शरीरमा रौंको संख्या कम हुन्छ ।

यसबाहेक त्यस्ता मानिसहरुले शरीरका चिल्लो छाला भएका भागहरुमा नै त्यस्ता चिजहरु टाँसेर देखाउँछन् ।

शरीरकको रौं भएका स्थानमा त्यस्ता कुनै पनि चिजहरु टाँसिंदैनन् ।

शरीरको चिल्लो छाला भएको भागमा फलाममात्र होइन प्लाष्टिकका भाँडा समेत टाँसिन्छन् ।

भ्याकुम इफेक्टका कारण त्यस्तो हुन सम्भव भएको वैज्ञानिकहरुको भनाइ छ ।

वैज्ञानिकहरुले कोरोना खोपविरुद्ध भ्रम फैलाउन तथा सस्तो प्रचारका लागि त्यस्ता भिडियो सामग्रीहरु निर्माण गरिएको तर त्यस्ता सामग्रीलाई निरुत्साहित गर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया