Pura Samachar

नेपाली कांग्रेसको संगठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह

प्रकाशित: June 15, 2021

नेपाली कांग्रेसको संगठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह

काठमाडौं– नेपाली कांग्रेसको संगठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

संगठन विभागका प्रमुख एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना सङ्क्रमण देशभर व्यापक रूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको हो ।

‘तेह्र लाख ज्येष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन बाँकी रहेका छन्, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार समयमै दोस्रो खोप उपलब्ध गराउने विश्वासिलो आधार सरकारले बनाउन सकेन’, उहाँले भन्नुभयो ।

सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धि ठानेको लकडाउनलाई समेत सरकारले आफ्नो सत्ता लम्ब्याउन प्रयोग गरेको उहाँको भनाइ थियो ।

नेता श्रेष्ठले कोभिड–१९ को सङ्कटसँग जुध्दै नेपाली जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा सबै राजनीतिक दलको रहेको बताउनु भयो ।

उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गृहकार्य थाले पनि नयाँ सरकार बन्ने अवसर हुँदाहुँदै सरकारले संसद् विघटन गरेको उल्लेख गर्नुभयो ।

पार्टीका पूर्वउपसभापतिसमेत रहनुभएकाश्रेष्ठले पार्टीको विधान र संविधानअनुसार आगामी भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म पार्टीकोे १४औँ महाधिवेशन हुने स्पष्ट पार्नुभयो ।

महाधिवेशनको प्रस्तावित मितिबारे छलफल गरेर अन्तिम टुङ्गो लगाउन यही असार ३ गते बिहीबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले महाधिवेशन तयारीमा लाग्न पनि सङ्गठन विभागले सबैलाई आग्रह गरेको छ ।

नेता श्रेष्ठले वर्तमान कामचलाउ सरकारले गैरजिम्मेवारी काम गरिरहेको आरोपसमेत लगाउनुभयो

प्रतिक्रिया