Pura Samachar
  • सजिलो कमाइदेखि शून्य तलबसम्म

    प्रकाशित: १ हप्ता पहिले

    सजिलो कमाइदेखि शून्य तलबसम्म

    एजेन्सी। विश्वका अन्य हजारौँ युवा जस्तै २३ वर्षीय म्याथ्युले पनि कोरोना महामारीका कारण जारी लकडाउनमा आफ्नो जागिर गुमाउनुपर्यो । उनी भन्छन्, “मलाई स्ट्रेसले सुत्न पनि गाह्रो भइरहेको छ । हर समय थकाइ मात्र लाग्छ । पैसाको एकदम अभाव भइरहेको छ र सबैथोक अपुग भएजस्तो मात्र लागिरहन्छ ।”

    यसरी जागिर गुमाएपछि म्याथ्यु कोठा भाडा तिर्न सकेको छैनन् भने खाना जुटाउन पनि उनका लागि चुनौती भयो र उनले च्यारिटीको सहायता लिनैपर्ने  ठाने । ‘टर्न टु अस’ नामक सो च्यारिटीले आर्थिक सहयोगका रुपमा आपत्कालीन क्यास प्रदान गर्छ ।

    उक्त च्यारिटीका अनुसार पछिल्लो केही महिना आपत्कालीन अनुदान लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । यसमा पनि ३० वर्षभन्दा कम उमेर समूहका सबैदा धेरै रहेको बताइएको छ । टर्न टु अस च्यारिटीकी एन्ना स्टेभेन्सन भन्छिन्, “यति ठूलो सङ्ख्यामा मद्दत लिनेहरु बढ्नुले के स्पष्ट पार्छ भने यो उमेर समूहका मानिस लकडाउनका समयमा सबैभन्दा नराम्ररी प्रभावित भइरहेका छन् ।”

    म्याथ्यु आफ्नी प्रेमिकाका साथमा कर्नवालस्थित एउटा फ्ल्याट लिएर बसेका थिए । कोभिड–१९ सुरु हुनु अगाडि उनको कमाइ दैनिक गुजाराका लागि पर्याप्त थियो र उनीहरु दुवैजना केही हप्ता काम नगरि पनि खान बस्न सक्ने अवस्थामा थिए ।  उनी पहिले एउटा होटलमा हाउसकिपिङ सुपरभाइजरको काम गर्थे । त्यहाँ दुई वर्ष बिताइसकेपछि उनलाई सिमित समय मात्र काम गर्नुपर्ने अर्को एउटा होटलबाट प्रस्ताव आयो । यस्तोमा उनले पहिलेको जागिर छाडेर त्यता काम गर्ने निर्णय गरे । उनी भन्छन्, “मैले एउटै कम्पनीका लागि दुई वर्ष काम गरिसकेको थिएँ तर गलत समयमा आएर म काम बदल्न पुगेँ ।” यति मात्र नभएर उनले नयाँ कामका लागि १६ हजार पाउन्डको गाडी पनि भर्खरै मात्र खरिद गरेका थिए जसले उनको आर्थिक स्थितिलाई झन खराब बनाइदियो ।

    यिनै कारण उनी स्ट्रेस र तनावबाट गुज्रिनु परेको बताउँछन् । उनी भन्छन्, “मेरो मनमा एउटै कुरा मात्र चलिरहन्छ कि, यी सबै थोकको पैसा मैले कसरी तिर्ने ? मेरी पार्टनरलाई मैले कसरी सपोर्ट गर्ने ? मैले धेरै समय नियमित काम गरेर पनि होला बेरोजगार हुनुले मलाई, ‘म केही कुराको लायक छैन’ जस्तो महसुस गराइरहेको छ । जबकी मैले सधैँ कर तिरेको छु र मेरो सिभी पनि एकदम राम्रो छ । ”

    यसरी पैसाको चिन्ताले नै म्याथ्युको मानसिक स्वास्थ्यमा गम्भीर असर पुगिरहँदा उनलाई आर्थिक अनुदान माग्न पनि कठिन भएको हो । अहिले म्याथ्यु पार्ट टाइम कामको खोजीमा छन् तर यसमा पनि उनी जस्ता २५ वर्ष मुनिका युवालाई कम पारिश्रमिक दिइने चलन रहेको हुँदा उनले आफू दुःखी भएको बताएका छन् । उनी भन्छन्, “हामीलाई २५ मुनिको भएकाले कम कर तिर्नुपर्ने भन्दै थोरै पैसा दिइन्छ । तर मेरो अवस्थामा मैले मेरो गाडीको इन्स्योरेन्स तिर्दा २५ मुनिको भएकै कारण धेरै तिर्नु परिरहेको छ । कम उमेरको हुँदैमा धेरै कुरा सस्तो पाइन्छ भन्नु एकदम गलत हो ।”

    म्याथ्युका अनुसार पछिल्लो ६–१० हप्ताकै कारण आज उनी यस्तो कष्टकर अवस्थामा छन् र पहिलोपटक ठूलो ऋणमा परेका छन् । यही कारण बच्चा जन्माउने योजना पनि रोकिएको उनी बताउँछन् ।

    म्याथ्यु जस्तै २५ वर्षीया लिन्सी, इभेन्ट प्रोजेक्ट म्यानेजर हुन् जो सरेस्थित आफ्नी आमासँग बस्छिन् । ग्राजुएट हुनु अगाडिदेखि नै उनले काम गर्दै आएकी थिइन् र गत जनवरीमा मात्र स्वरोजगार हुने निर्णय गरेकी हुन् । यसरी उनले मार्चमा एउटा एयरलाइनसँग स्थायी कन्ट्राक्ट पक्का पनि गर्न लागेकी थिइन् । तर पछि गएर त्यो रद्द हुन पुग्यो । उनी भन्छिन्, “यो मेरा लागि एकदमै क्रुर अन्त्य थियो ।” हप्तौँसम्म केही होला की भन्ने आशाले उनी निरन्तर एयरलाइनसँग सम्पर्क गरिरहेकी थिइन् । अन्ततः कम्पनीले उनी योग्य नै नभएको बतायो । यसरी उनले स्व रोजगारको सपोर्ट पनि लिन नमिल्ने भयो ।

    वर्षौँसम्म उनले आफ्नी आमालाई आर्थिक रुपमा सहयोग गर्दै आएकी थिइन् जो नर्सिङ होममा काम गर्छिन् । उनी भन्छिन्, “मेरी आमा सोसल केयरमा भएकाले उनको काम गर्ने समय जथाभावी रुपमा बढेको छ जबकी उनी ६० वर्ष पार गरिसकेकी छन् । त्यसैले मैले सधैँ उनलाई कम भार पार्न १६ वर्षदेखि नै काम गर्दै आएँ । यसरी सजिलै ३० हजार पाउन्डसम्म कमाइ गर्नेदेखि अहिले म शून्यको अवस्थासम्म झरेको छु । जसकारण फेरि आमाप्रति निर्भर रहन बाध्य भएकी हुँ ।

    उनले थप भनिन्, “यो मेरा लागि अत्यन्तै दुःखद् र निराशाजनक क्षण बनेको छ किनकी म आर्थिक रुपमा सधैँ स्वतन्त्र रहँदै आएको छु । अहिले मलाई आमाले, मेरो कमाइको भर्पाइ गर्न रातदिन काम गर्नुपर्ने दबाब महसुस गर्नु भइरहेको होला भन्ने कुराको एकदम धेरै चिन्ता छ ।”

    वर्तमान मात्र होइन भविष्यको सोचले पनि लिन्सीलाई अझ बढी तनाव दिइरहेको छ । अहिले उनीसँग खालि समय मात्र भएकाले पनि उनको मानसिक स्वास्थ्य दिनदिनै खराब बन्दै गएको उनी बताउँछिन् । यस्तोमा उनले आफूजस्तै बेरोजगार हुनु परेकाहरुको फेसबुक ग्रुपमा सक्रिय भइरहेको बताइन् । अधिकांश युवाले यसै समयमा राम्रो कामका लागि पुरानो जागिर छाडेर नयाँ सुरुवात गरेको हुँदा धेरै अफ्ठ्यारोमा परेको उनी बताउँछिन् । सो ग्रुपमा १० हजारभन्दा धेरै युवा सहभागी छन् ।

    युवा नै किन बढी प्रभावित ?
    ३० वर्ष मुनिका प्रायः युवा आफ्नो करिअरको सुरुवातमा हुन्छन् र समय जतिसुकै आधुनिक भइसके पनि अझै २५ वर्षभन्दा कम उमेरका कामदारहरुलाई कार्य प्रणालीले धेरै क्रुर व्यवहार गर्ने गरेको एन्ना स्टेभेनसन बताउँछिन् । विशेषगरी २५ वर्ष मुनिका कर्मचारीहरुले बढी उमेरका कामदार जस्तो समर्थन र साथ पाउँदैनन् जसपछाडिको वास्तविक कारण कसैलाई थाहा छैन । यस्तोमा विज्ञहरुले छोटो समयको आर्थिक अवरोधले युवालाई दीर्घकालीन बोझमा फसाउन सक्ने सम्बन्धी चेतावनी दिइरहेका छन् । किनकी यसबीच धेरैले उच्च दरमा ऋण लिने, जस्तोसुकै काम सस्तोमा गर्ने लगायतका उपाय अपनाइरहेका छन् ।  -बीबीसी

    प्रतिक्रिया