
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन भएपछि काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिपरिषद बिस्तार असंवैधानिक रहेको फैसला सुनाए लगत्तै सरकारका २० मन्त्री पदमुक्त भएका छन् ।
अदालतको फैसलाले सत्तारुढ नेकपा एमाले लगायत समग्र नेपाली राजनीति नै तरंगित बनेको छ । सरकारमा रहेका मन्त्रीहरुलाई जिम्मेवारी नदिन अदातलतले रोक लगाएपछि मन्त्रिपरिषद अहिले ओलीसहित पाँच सदस्यमा खुम्चिएको छ ।
अदालतको फैसलापछि उत्पन्न अवस्थाका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले अहिले आफूसँग बाँकी रहेका मन्त्री, पूर्व मन्त्री र पार्टीका स्थायी कमिटी सदस्यहरुको बैठक बोलाउनुभएको छ । बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा अदालतको मंगलवारको फैसलापछि तरंगित बनेको नेपालको राजनीति र सरकार सञ्चालनमा देखिएको चुनौति लगायतका विषयमा छलफल भैरहेको वैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता समाचारलाई जानकारी दिनुभयो ।
निवर्तमान मन्त्री र आफू निकटका नेताहरुसँगको बैठकपछि प्रधानमन्त्री ओलीले आजै सरकारी टेलिभिजनबाट रेकर्डेड सम्बोधन गर्नुहुने चर्चा पनि चलेको छ । यसबारेमा औपचारिक जानकारी नभएको बताउदै नेता नेम्वाङले प्रत्यक्ष सम्बोधन नभई रेकर्डेड भने हुनसक्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया