काठमाडौं । सरकारले भारतबाट नेपाल प्रवेश गर्ने ८ वटा नाकामा स्थायी हेल्थ डेस्क निर्माण गर्दैछ । स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा अस्थायी रूपमा सञ्चालन भइरहेका १३ वटा हेल्थ डेस्कमध्ये आठ स्थानमा भनवसहितको स्थायी डेस्क निर्माण गर्न लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय तहहरूको समन्वयमा यी नाकाहरूमा भनव निर्माण गर्न लागिएको हो ।
के–के सेवा दिइन्छ स्थायी हेल्थ डेस्कमा ?
स्थायी हेल्थ डेस्क भएका नाकाबाट दैनिक भारत आवतवाजत गर्ने व्यक्तिहरूको तापक्रम परीक्षण गरेर विवरण राखिनेछ । शरीरको तापक्रम १००.४ डिग्री फरेनहाइटभन्दा बढी भएका तथा लक्षण भएकाहरूको कोभिड पहिचानका लागि एन्टिजेन तथा औलो परीक्षणका लागि आरडीटी परीक्षण गरिनेछ । एन्टिजेनबाट पोजेटिभ नतिजा आएकाहरूको नमुना पीसीआर परीक्षणका लागि पठाइनेछ ।
यदि यीमध्ये कुनैपनि रोग पहिचान भएमा आइसोलेट गर्ने तथा स्वास्थ्य संस्थासम्म पु¥याउने काम पनि हेल्थ डेस्कले नै गर्नेछ । अहिले प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशसम्म गरी १३ वटा नाकाबाट भारत आवतजावतका लागि अनुमति दिइएको छ । स्थायी हेल्थ डेस्क निर्माणका लागि प्रस्ताव गरिएका ११ वटामध्ये ८ वटामा तत्काल निर्माण कार्य सुरु गरिएको हो ।
काँकडभिट्टा (झापा), मोरङ, माडा (सिरहा), जमुनाहा (बाँके), वीरगञ्ज (पर्सा), गौर (रौतहट), त्रिनगर (कञ्चनपुर), गड्डाचौकी (कञ्चनपुर) नाकामा स्थायी हेल्थ डेस्क निर्माण गर्न लागिएको हो ।
बजेट र जनशक्ति व्यवस्थापन
कोभिड संक्रमणको पहिलो लहरदेखि अस्थायी रूपमा सञ्चालन हुँदै आएका ११ वटा हेल्थ डेस्कलाई स्थायी गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रतिडेस्क ८८ लाख रुपैयाँ रकम पठाएको छ । जसमध्ये ५० लाख रुपैयाँ भवन निर्माण, २७ लाख ४० हजार रुपैयाा जनशक्ति व्यवस्थापन, लजिस्टिक खर्चबापत १० लाख रुपैयाँ र मसलन्द खर्चबापत एक लाख रुपैयाँ छुट्याएको छ ।
प्रतिक्रिया