लन्डन । बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गइरहेको कोभिड–१९ संक्रमणविरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ ।
नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र बेलायतले हाल नेपालले भोगेको संकटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।
आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गरेका थिए । नेपाललगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरिसकेको र नेपालका लागि करिब तीन लाख ५० हजार कोभ्याक्स छुट्ट्याइसकेको सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिएका थिए ।
दुई दिनअगाडि मात्र नेपालका परराष्ट्रमन्त्रीसँग छलफल भएको र यहाँस्थिति नेपाली दूतावासका प्रतिनिधिसँग पनि छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई बताए ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पनि यहाँका सम्बन्धित निकायमा निरन्तर रूपमा संवाद भइराखेको र सकारात्मक प्रतिक्रिया आएको बताए ।
केही दिनअगाडि मात्र बेलायतकी चर्चित नायिका जुवाना लुम्लेलगायत करिब ५० जना बेलायतीहरूले नेपाललाई खोप उपलब्ध गराउन यहाँको सरकारलाई पत्र लेखेर आग्रह गरेका थिए ।
यहाँका नेपाली संघ–संस्थाले संस्थागत रूपमै पिटिसनमार्फत ऐक्यबद्धता चलाएर दबाब दिन समाजसेवी रमेशराज पण्डितले अभियान नै सञ्चालन गरेका छन् । रासस
प्रतिक्रिया