
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा गएको बाढी–पहिरोको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिनुभएको छ । जिल्लामा गएको बाढी-पहिरोले पुर्याएको क्षतिलाई सम्बोधन गर्न मागसहित शुक्रबार प्रधानमन्त्री ओलीसमक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिनुभएको हो ।
सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस कुरामा कसैले राजननीति गर्नु हुन्न मानवीय हिसाबमै जानुपर्छ ।’ पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनुभयो । साथै उहाँले बाढीको पूर्व-सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।
यस्ता विपत्तिमा स्थानीय आवश्यकताअनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यस्ता ठाउँमा दाताहरू पुगेका छन्, उनीहरूलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान् । तर, त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वेमार्फत पुनर्निर्माणका लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको छ । यसैगरी विस्थापित चार सय परिवारको अस्थायी बसोबासको लागि प्रतिपरिवार आठ बण्डल जस्ता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरूको पुनर्निर्माण र पुरिएका घरहरूलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरूको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
सिन्धुपाल्चोकमा असार १ गतेपछि परेको अविरल वर्षापछि उत्पन्न बाढी-पहिरोका कारण १६ जनाको मृत्यु, चार परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी ३३७ वटा घर र ६० वटा गोठ, ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगाएको छ । यसैगरी, हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन भत्किएको छ भने दुई वटा विद्यालय (सरस्वती मावि हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् नदी किनारका बस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पूरै यातायात बन्द भएको पनि ज्ञानपत्रमा उल्लेख छ ।
यसका साथै खानेपानी प्रणाली अवरुद्ध भई खानेपानीको अभाव भएको, नदी आसपासका सिञ्चाइ कुलो पूरै बगाएको, नदी किनारका घरहरूमा हिलो, लेदो पसी बस्न नहुने भएको तथा नदी किनारका १० वटा ट्राउट माछा फार्मसमेत नष्ट भएको जानकारी सो अवसरमा दिइयो । बाढीपछि पनि नदीले आफ्नो वहाव परिवर्तन गरी जथाभावी बगिरहेको छ, मेलाम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको, विद्युत् प्रसारण लाइन अवरुद्ध भएको तथा बैंकबाट रिण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको बैंक किस्ता भुक्तानीमा समस्या भएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
न्यायालयलाई राजनीतिक विवादको निरूपण गर्ने थलो बनाउन खोजियो
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई राजनीतिक विवादको निरूपण गर्ने थलो बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशित गरेका पूर्व– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मन्त्री पदमा रहँदा सार्वजनिक कार्यक्रममा दिएका मन्तव्यहरूको संकलन समेटिएको सहित विभिन्न चार पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत गएको प्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीतिलाई जनतामा पनि जान नदिने, संसद्मा पनि राजनीतिको टुंगो नगर्ने राजनीति अन्तै लगेर टुंगो गर्ने ? राजनीतिक फैसला, प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि । अदालतले त संविधान र कानुनको कुरा गर्ने हो, राजनीतिक होइन ।’
राजनीतिक निर्णयहरू राजनीतिक संस्थाहरूले नै गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले मन्त्रीहरू हटाउने निर्णयमा ‘सेटिङ’ भएको आशंका पनि गर्नुभयो । ‘मन्त्रीहरू सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो खुच्चिङ प¥यो भन्ने होला,’ प्रतिनिधिसभा विघटनपछि जेठ २१ र २७ मा नियुक्त मन्त्रीहरूलाई हटाउने सर्वोच्चको आदेश लक्षित गरेर ओलीले भन्नुभयो, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि एउटा गजबको छ । धादिङमा अघिल्लै दिन भने, मन्त्रीहरू भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । अथवा न्याय निष्पक्ष निरूपण भयो कि अरू नै हिसाबले ? एउटा हल्ला छ नि सेटिङ भन्ने !’
यस्तै, प्रधानमन्त्री ओलीले अहिले राष्ट्रपतिको आलोचना गर्ने प्रतिस्पर्धा भइरहेको पनि बताउँदै भन्नुभयो, ‘मैले एकपल्ट भनेको थिएँ रिसाएको बिरालोले खाँबो चिथोर्छ । राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चल्या छ ।’
पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जसरी चुच्चे नक्सालाई कसैले मेटाउन सक्दैन त्यसै गरी विदेश नीति पनि कसैले हल्लाउन सक्दैन किनकि यो अन्योलमा होइन, प्रष्टताका आधारमा बनेको छ ।’ उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको उल्लेख गदै प्रधानमन्त्रीले छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने पनि बताउनुभयो । ‘यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको कार्ड खेल्दैनाँै’, प्रधानमन्त्रीको भनाइ थियो ।
नेपालले ‘वसुधैव कुटुम्बकम्’को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने पनि उहाँले बताउनुभयो । नेपाल विश्वमा शान्ति छाउनुपर्छ भन्ने मान्यताबाट निर्देशित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामी परमाणविक र आम विनाशकारी हतियारको पक्षमा छैनौँ, थन्क्याएर राखिएका ती हतियारहरू कथम् कदाचित विष्फोट भए भने के होला ? भन्नेमा सजग छौं’ उहाँको भनाइ थियो ।
सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्ने बताउँदै प्रधानमन्त्रीले थप्नुभयो, ‘परिआउँदा मात्र लड्ने हो यसो भन्नु कुनै कायरता वा निरीहता होइन ।’
नेपालले सन्दर्भ गुमाइसकेका पुराना सन्धिहरूलाई नयाँ परिवेशमा बदल्न चाहेको बताउँदै प्रधानमन्त्रीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता राणाकालीन सन्धिहरू पुनरावलोकनका लागि दुई प्रमका बीचमा भएको सहमतिअनुसार चार÷चार जनाको विज्ञ टोली बनाइएको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया