काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको ९ औँ स्थायी कमिटी बैठक सकिएको छ ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलदेखि १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनेसम्मका निर्णयहरु भएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रवक्ता प्रदिप ज्ञवालीले त्यसबारे जानकारी दिएका हुन् ।
आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासहरका बारेमा समेत छलफल भएको उनले बताएका छन् । त्यसैगरी पार्टी एकताका लागि उच्च तहमा छलफल गर्नका लागि पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गतेका लागि बोलाइएको छ ।
“बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिती, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तीहरु र राष्ट्रिय राजनीतिको विभिन्न आयामहरुका विषयमा संक्षिप्त तर गहन रुपमा छलफल गरेका छौँ । यो विषयमा थप केहि निर्णयहरु गर्न आवश्यक भएको र थप अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केहि निर्णयहरु निकाल्नुपर्ने भएकाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंंमा बस्ने गरि बैठक बोलाइएको छ ।” उनले भने ।
त्यसैगरी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाध्यात्मक अवस्था आएर कारवाही गरेको समेत उनले बताए ।
प्रतिक्रिया