खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको चितवनकै ठूलो बाबा ग्यास उद्योगमा कयर खोला पसेर क्षति पुर्याएको छ ।
कयर खोलाले उद्योगमा रहेका प्लान्ट र भण्डारण गरेर राखिएका सिलिण्डरमा क्षति पुर्याएको छ । उद्योगका निर्देशक बिमल कालाखेतीले त्यहाँका धरै सिलिण्डर डुबाएको र वगाएको जानकारी दिए । यहाँका सिलिण्डर वगाएर सौराहासम्म पुगेका छन् ।
वाढीले उद्योगको संरचनामा समेत क्षति पुर्याएको छ । बाढीले प्लान्ट भित्र रहेका मजदूरलाई बगाउने खतरा रहेकाले उद्धार कार्य जारी रहेको उनले बताए ।
उनले अहिले प्रहरी, सेना, विपद व्यवस्थापनसहितको टोली र शसस्त्र प्रहरीले ३० जना कर्मचारीलाई उद्धार गरेको बताए । उद्योगमा औषत १० देखि १५ हजार सिलिण्डर रहने गर्दछ । के कति सिलिण्डर बगायो र अन्य क्षती के कति छ भन्ने बारेमा यकिन जानकारी भइनसकेको उनले बताए ।
‘कति क्षति भयो भन्ने अहिले यकिन छैन’, उनले भने, ‘अहिले हामी उद्योगमा जाने सक्ने अवस्थानै छैन ।’ उद्योग करीब तीन बिघा क्षेत्रफलमा फैलिएको छ ।
यहाँ दैनिक ५ हजार सिलिण्डर ग्यास भरिदैं आएको छ, जहाँ ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । देशभर विक्री सञ्जाल रहेको उक्त कम्पनीको लगानी १ अर्ब रुपैयाँभन्दा बढी रहेको उनले बताए । उद्योगमा कयर खोला उर्लेर बिहान ६ बजे बाढी पसेको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाका कारण पूर्बी चितवनको खैरहनीसँगैै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए । उद्योग पूर्वी चितवनका अधिकांश खोला उर्लेपछि प्रभावित र संभावित जोखिम क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी उद्धारका लागि खटिएको लामिछानेले जानकारी दिए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्बी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोकमा डुवान भएको छ ।
कतिपयलाई उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोला समेत वढ्दै गएको भन्दै उनले सौराहामा पनि डुवानको खतरा बढ्दै गएको बताए ।
प्रतिक्रिया