Pura Samachar

जंगलमै लुकेका रामबहादुर बम्जन पटक पटक छापा मार्दा पनि भेटिएनन् आश्रममा

प्रकाशित: June 26, 2020

जंगलमै लुकेका रामबहादुर बम्जन पटक पटक छापा मार्दा पनि  भेटिएनन् आश्रममा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएका लिटिल बुद्धका नामलेसमेत चिनिँदै आएका तपस्वी रामबहादुर बम्जन अहिलेसम्म पनि पक्राउ परेका छैनन् । प्रहरीले पटक–पटक सिन्धुलीस्थित उनको आश्रममा छापा मारेको भए पनि उनी त्यहाँ छैनन् ।

गत बिहीबार पनि केन्द्रीय अनुसन्धान ब्युरोलगायतको प्रहरीको विशेष टोलीले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेस्थित बम्जनको आश्रम सिल गरेर छापा मारेको थियो ।  झण्डै १० घण्टा लामो प्रहरी अपरेसनमा पनि भेटिएनन् । बमजन आश्रम क्षेत्रमै भएको सूचनाको आधारमा छापा मारेको तर उनी नभेटिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए ।

तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा बम्जन सिन्धुलीकै त्यही आश्रम रहेको जंगलमै लुकेका छन् ।  घना जंगल भएकाले सहज रुपमा ‘सर्च’ गर्न सजिलो छैन । गत माघ २३ गते बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीबाट पक्राउ पु्र्जी जारी भएको थियो ।  उनीमाथि बालयौन शोषणको आरोप लगाइएको छ ।
यसअघि बम्जनको सिन्धुपाल्चोक आश्रममा पनि प्रहरीले छापा मारेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कै टोलीले  सिन्धुपाल्चोकस्थित आश्रममा पनि खानतलासी गरेको थियो ।  सो क्रममा बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू फेला परेको थियो ।  प्रहरीका अनुसार बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया तामाङको हत्या गरेको आरोप पनि छ ।

उनका समर्थकहरुले भने आरोप अस्वीकार गर्दै आएका छन् । तर त्यसयता बम्जन देखिएका छैनन् ।

कस्तो छ सिन्धुलीमा बम्जनको आश्रम ?

गत बिहीबार सीआईबीको नेतृत्वमा केन्द्रीय प्रहरी बिशेष कार्यदल, सशस्त्र प्रहरी गुल्म काभ्रे, लाईभ डिटेक्टर मेसिनसहितको विज्ञ टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट गरि १ सय जनाको टोलीले आश्रममा ‘सर्च अपरेसन’ चलाएको थियो ।  कमलामाई नगरपालिका–८ स्थित जंगलमा रहेको क्षेत्रमा मैत्री धर्म आश्रमले चर्चेको स्थान वरपर घेरा हालेर बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म ‘सर्च अपरेसन’ चलाइएको थियो ।

आश्रमको मूलगेटबाट ४ सय मिटर अगाडि १० रोपनीमा फैलिएको बम्जन बस्ने घरमासमेत प्रहरीले छापा मारेको थियो ।  घरको हाताभित्र कुकुर र लाइभ डिटेक्टर मेसिन प्रयोग गरिएको थियो । तर बम्जन फेला परेनन् । प्रहरीका अनुसार बम्जनको आश्रम रहेको जंगलमा अत्यधुनिक भवनसमेत छन् ।
जिम हाउस पनि छ । ब्यूरोका अधिकारी बम्जन सोही जंगलमै लुकेको दाबी गर्छन् ।

बम्जनले ठाउँ–ठाउँमा सेन्ट्री पोष्ट निर्माण गरेका छन् । जसले नयाँ मान्छे वा प्रहरी आश्रम क्षेत्रमा प्रवेश गर्दा भित्र सूचना प्रवाह गर्छन् । झण्डै ३५ विगाह क्षेत्रको घना जंगलमा बम्जनको आश्रम फैलिएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया