अस्पतालमा उपचाररत नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति (तिल विक्रम नेम्वाङ) वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ।
एकसाताअघि मस्तिष्कघात भई काठमाडौंको ॐ अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई हाल सघन उपचार कक्षबाट वार्डमा सारिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
शरीरको दायाँ भाग सुरूमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थामा ॐ अस्पताल भर्ना भएकोमा उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई अहिले सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको उनकी छोरी नामोती नेम्वाङले जानकारी दिइन्।
काइँलाको उपचारमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा.प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा.कृष्ण ढुङ्गाना लगायतका चिकित्सकसहितको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया