Pura Samachar

आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

प्रकाशित: July 3, 2021

आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ। यसैक्रममा विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले काठमाडौंको मित्रपार्कमा मसाल जुलुस निकालेको छ। यस्तै, उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत दहन गरेको छ। पशुपति क्याम्पस बाहिर पुतला जलाउने क्रम प्रहरी र विद्यार्थीबिच केहीबेर घम्साघम्सी परेको थियो।

पछिल्लो केहीदिन यता काठमाडौंमा विपक्षी विद्यार्थी संगठनले दैनिक प्रधानमन्त्री ओलीको पुतला दहन गर्दै आएको छ। आज देशभरका अन्य शहरहरुमा समेत पुतला दहन गर्ने योजना संगठनको छ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ।

शुक्रवार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस सहित प्रदर्शन गर्ने, असार २० गते विद्यार्थी आन्दोलनका पुर्व अध्यक्षसँग अन्तक्रिया, २१ गते संविधानको प्रति प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्।

प्रतिक्रिया