Pura Samachar

खुसार्नीको धुलोमा साङ्लो

प्रकाशित: July 4, 2021

खुसार्नीको धुलोमा साङ्लो

पछिल्लो समय ग्राहकको रोजाइ सुपर मार्केट हुन थालेको छ । सुपर मार्केटमा ग्राहकको आकर्षण बढ्दो छ । तर, यस्ता सुपर मार्केटमा उपभोग्य सामग्रीमा ठगी तथा अखाद्य सामग्रीको भेटिने गुनासो पनि धेरै नै छ । यस्तैमा भाटभटेनीको खुसार्नीको धुलोमा साङ्लो पाइएको छ । भाटभटेनी फुड प्रोडक्टस प्रालि को आफ्नै उत्पादनमा यस्तो भेटिएको हो । डिल्लीबजारका एक उपभोक्ताले टंगालस्थित भाटभटेनीबाट खरिद गरेको खुसार्नीको धुलोमा साङ्लो पाइएको छ । यो प्याकेटमा मिति गुज्रिने समय बाँकी नै रहेको छ तर पनि यस्तो वस्तु भेटिनु भनेको हदैसम्मको लापरबाही हो ।

हामीकहाँ सिलप्याक भएका आकर्षक तरिकाले प्याकिङ गरिएका तर गुणस्तरहीन र मिति सकिएका खाद्य सामग्रीको बिक्री पटक–पटक दोहोरिने गर्दछ । यसैको पछिल्लो उदाहरण हो यो । व्यवसायीले नैतिकता गुमाउँदा यस्ता सामग्री उपभोग गर्न उपभोक्ताहरू बाध्य छन् । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिएको छ । यस्ता अखाद्य समानका विषयमा उपभोक्ताको गुनासो ज्यादा भए पनि गुनासोलाई सम्बोधन गर्न प्रभावकारी अनुगमन हुन नसक्दा जसरी पनि कमाउ धन्दामा लागेका व्यापारीहरूको मनोबल बढेको छ भने आम उपभोक्ता यस्ता सामग्री उपयोग गर्न बाध्य छन् ।

उपभोक्ता हितविपरीत अखाद्य सामग्री बिक्री गर्ने, मिति गुज्रिएको सामान बिक्री गर्ने, एमआरपीभन्दा बढी मूल्य असुल्ने, लेबल मेटाएर अर्को मनपरी लेबल राखेर सामान बिक्री गर्ने सामान्य जस्तै भइसकेको छ हामीकहाँ ।

खाद्यवस्तुमा यस्ता प्रकारका वस्तु भेटिनु भनेको उपभोक्ताको स्वास्थ्यमथि हदैसम्मको लापरबाही हो । यस्ता प्रकारका वस्तु उपभोग गर्दा विभिन्न प्रकारका रोग लाग्नुका साथै कलेजोमा पनि असर पुग्ने चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यमा असर पर्ने खाद्यवस्तु उत्पादन तथा बिक्री गर्नेलाई विदेशी मुलुकमा कडा कारबाही भए पनि नेपालमा सामान्य नसिहत दिएर छोड्दा यस्ता गतिविधिमा संलग्नको मनोबल बढेको छ ।

भाटभटेनीका यस किसिमका हर्कत नयाँ भने होइनन् । कमजोर कानुनका कारण उनीहरू यस्ता कार्य गर्दै आएको उपभोक्ताकर्मीहरू हिमालय टाइम्सलाई बताउँछन् । संकटको बेला पनि भाटभटेनी सुपर मार्केटको कालोधन्दा यसअघि सार्वजनिक भएको थियो । महामारीको आहालमा रहेका जनतालाई दैनिक उपभोग्य सामानमा अत्यधिक बढी मूल्य लिएको पाइएपछि गत वर्ष जरिवाना गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई गतवर्षको वैशाखमा तीन लाख जरिवाना गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको थियो । ‘चेन सुपरमार्केट’ भाटभटेनीले एउटा सामग्री बिक्री गर्दा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा १०० रुपैयाँ बढी असुलेको पुष्टि भएपछि अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरको थियो । भाटभटेनी राजस्व छली प्रकरणमा पनि यसअघि सार्वजनिक भएको थियो ।

यसरी उपभोक्ता ठग्ने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ हुन् । उनी आफूलाई समाजसेवी देखाउन चाहन्छन् । उनले केन्द्रीय कोरोना रोग रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेर सामाजिक प्रतिष्ठा आर्जन गर्न खोजेका थिए ।

प्रतिक्रिया