
काठमाडौ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट वहस शुरु हुदैछ ।
सभामुख सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीले बहस गर्ने छन्। उनीहरुका लागि दुई घण्टाको समय छुट्याइएको छ ।
सभामुखका वकिलले बहस गरेपछि १४६ सांसदको तर्फबाट जवाफ दिइने छ। बाँकी रहेको जवाफी बहस सोमबार सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्न दुई घण्टा समय निर्धारण गरिएको छ।
सो बहससँगै दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाईका लागि छुट्याइएको ३२ घण्टा बहसको समय सोमबार सकिने छ। त्यसपछि फैसला आउने अपेक्षा रहेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधिसभा विघटन रद्द गर्न मागसहित १४६ सांसदको तर्फबाट दायर रिटमा सुनुवाई भइरहेको हो।
निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया थाल्दा धारा ७६ (४) लाई बाइपास गरिएको तथा धारा ७६ (५) मा समर्थनको अधिकार सांसदमा निहित रहने जिकिर गरेका थिए।
तर सरकारी पक्षले भने संविधानमा निर्दलीय व्यवस्थाको कल्पना नै नरहेकाले धारा ७६ (५) अनुसारको सरकार बनाउँदा पनि सांसदमा दलीय ह्वीप लाग्ने दाबी गरेका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको तथा राष्ट्रपतिबाट आफ्नो संवैधानिक जिम्मेवारी भन्दा बाहिर गएर अधिकारको प्रयोग भएको जिकिर निवेदक पक्षका वकिलको छ।
प्रतिक्रिया