काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आज सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गरेका छन् ।
सभामुखका तर्फबाट बहसका क्रममा वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले राष्ट्रपति आफ्नो जिम्मेवारीबाट भागेको जिकिर गरे । “राष्ट्रपति आफ्नो जिम्मेवारीबाट भाग्नुभयो, कर्तव्यच्युत हुनुभयो,” उनले भने, “हुनुभयो कि भएन भन्दा उहाँको काम कर्तव्य र अधिकार हेर्दा पुष्टि हुन्छ ।”राष्ट्रपति संविधानको पालनामा चुकेको तर्क उनले गरे । “उहाँ (प्रधानमन्त्री)बाट संविधानको ७६(४) को प्रक्रिया पलना भएको छैन, तर राष्ट्रपतिले त्यसलाई स्वीकार गर्नुभयो । त्यो प्रक्रिया पूरा गर्दा प्रधानमन्त्रीको पद जाने थियो । प्रधानमन्त्री बच्न खोज्दा राष्ट्रपतिले सहयोग गर्नुभयो,” उनले भने ।
वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले इजलासमा भने, “एमाले सांसदले देउवालाई सहयोग गरे, ओलीलले दल त्याग ऐन आकर्षित हुन्छ भन्नुभयो । त्यो ऐन कहाँ कार्यान्वयन हुन्छ, कार्यान्वयनको विधि के हो त्यता ध्यान दिनुभएन, ओलीको पत्रलाई न कानुन मानिदिनुभयो ।”
दल त्याग ऐन संसद्मा मतदानका क्रममा लाग्ने भन्दै उनले राष्ट्रपतिलाई कसैले पत्र लेख्दैमा नहुने जिकिर गरे । “तर, उहाँले त्यसैलाई आधार मानेर दाबी अस्वीकृत मात्र गर्नु भएन, संसद् नै विघटन गरिदिनुभयो । उहाँले संविधानको रक्षक र पालकको जिम्मेवारी बहन गर्न चुक्नुभयो ।” सभामुखका तर्फको बहस सकिएको छ ।
प्रतिक्रिया