हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक आज १ बजे बस्ने भएको छ। आइतवार अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै आजका लागि सारिएको हो।
सर्वदलीय सहमति हुन नसकेपछि बैठक सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
प्रदेशसभाको बैठकमा हिजो शनिवार दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आइतवार हेटौँडामा बसेको सर्वदलीय बैठक भएको थियो।
बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए।
माधव नेपाल समूह अझै पनि बजेटलाई पास गराउन पूर्ण सहमत नभइसकेकोले बैठक रोकिएको बताइएको छ।
प्रतिक्रिया