Pura Samachar

एकाउन्टमा थिएन पैसा, नियमित घोट्दा निस्कियो ४२ लाख

प्रकाशित: July 6, 2021

एकाउन्टमा थिएन पैसा, नियमित घोट्दा निस्कियो ४२ लाख

काठमाडौं : असार १३ गते काठमाडौंस्थित सिद्धार्थ बैंकको एटीएम बुथमा एक जनाले एक्सपायर एटीएम कार्डबाट पैसा निकाल्ने प्रयास गरे। बैंक एकाउन्टमा पैसा पनि थिएन। एक त एक्स्पायर कार्ड अर्को एकाउन्टमा पैसा पनि थिएन।

तैपनि प्रयास गरी हेर्दा  पैसा निस्कियो। पैसा झरेपछि दंग परेका उनले साथीलाई पनि लिएर एटीएम बुथ चाहर्न थाले। दुई जना मिलेर उनीहरुले यसका लागि एउटा ट्याक्सी नै प्रयोग गरे। कालोपुलस्थित डेराबाट विभिन्न एटीएम बुथ पुगे।

नियमित घोट्ने क्रममा पैसा धमाधम झर्न थाल्यो। ४२ लाखसम्म पैसा जम्मा गरिसकेका भने उनीहरु अहिले प्रहरीको फन्दामा परेका छन्।

पक्राउ पर्नेमा ३० वर्षीया सावित्री तामाङ र ५७ वर्षे जगत गुरुङ रहेका छन्। उनीहरुले ४२ लाख रुपैयाँ झिकेको प्रहरीको दाबी छ। उनीहरुको कालोपुलस्थित डेराबाट ३० लाख रुपैयाँभन्दा बढी बरामदसमेत भइसकेको छ।

उनीहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्वीचमार्फत सिद्धार्थ बैंकको एटीएम प्रयोग गरी विदेशी कार्डबाट पैसा झिकिएको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंहले दुई जनालाई पक्राउ गरेको पुष्टि गरे।

उनीहरुले असार १३ गते पहिलो पटक कार्ड प्रयोग गरेर पैसा झिकेका थिए। एक्सपायर भएको कार्ड त्यो पनि मौज्दात नहुँदानहुँदै पैसा झरेपछि उनीहरुले नियमित रुपमा एटीएम घोट्न थालेका थिए।

उनीहरुले  ६ हजार रुपैयाँ देखि पटक पटक विभिन्न परीणाममा पैसा झिकेको खुलेको छ। जबकी मौज्दात थिएन। पैसा धमाधम झर्न थालेपछि उनीहरुले ठूलो ठूलो रकम झिक्न थालेका थिए। तीन दिनमा उनीहरुले ४२ लाख रुपैयाँसम्म झिकेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार भुक्तानी प्रदायक सेवा दिने बैंक र प्रणाली सञ्चालन गर्ने नेप्सको कमजोरीका कारण पैसा झिकिएको हो। नेप्सले त पैसा चोरी भएको थाहा पाएकै थिएन। सिद्धार्थ बैंकले खबर गरेपछि नेप्सले बल्ल थाहा पाएको थियो। प्रहरी, बैंक र नेप्सको समूहले कसरी पैसा चोरी भयो भनेर अहिले अनुसन्धान सुरु गरिसेको छ।

‘ बैंकका पक्षहरुलाई बोलाएर अनुसन्धान भइरहेको छ। थप अनुसन्धानपछि खुल्ला,’ एसएसपी सिंहले भने।

यसअघि पनि नेप्सको प्रणालीगत कमजोरीका कारण चिनियाँ ह्याकरले नेपाली बैंकबाट पैसा चोरी गरेका थिए।

प्रतिक्रिया