
नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिश्पर्धामा आउन सक्ने बताएका छन्। पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा कुराकानी गर्दै उनले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिश्पर्धामा जाने बाटो खोलेको भन्दै योग्य र सक्षम उम्मेदबार आकांक्षीका रुपमा अघि आउन सक्ने बताए।
विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै महतले पुर्खाको योगदान वा पुर्खौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गरे। पार्टीभित्रका तीन पुत्र नेताहरुको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापीत हुनुपर्ने दाबी गरे ।
भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै उनले पार्टीमा ठूलो योगदान दिएका लाखौं नेता कार्यकर्ताहरु रहेको बताए। उनले आफू सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनितिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्छ ।
प्रतिक्रिया