
काठमाडौं– सरकारले चीनबाट आज असार २४ गतेदेखि ल्याउने भोरोसेल खोपको पहिलो डोज ५५ वर्ष माथिका नागरिकलाई दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउने खोप अर्को हप्तादेखि लगाउन थालिने बताएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले चीनबाट ल्याइने भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने बताएका छन् ।
यसेबीच, कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेदेखि पहिलो डोज लगाउन सरकारले नागरिकबाट अनलाइनमार्फत आवेदन माग गरेको थियो ।
कोभिड–१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका छन् ।
सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो ।
स्वैच्छिक आवेदन दिएपनि आवेदन दिएका सबैले खोप पाउने टुंगो नभएको खोप सल्लाहकार समितिका संयोजक डा। पोखरेलको भनाइ छ ।
आवेदन दिनेले अहिले नै खोप पाउँछन् भन्ने नरहेको संयोजक डा.पोखरेलको भनाइ छ ।
उनका अनुसार यसपटक खोप दिने व्यवस्था नै विद्युतीय प्रणालीमार्फत गर्ने तयारी भैरहेको छ, तर त्यसका लागि एक–दुई वर्ष लाग्छ । त्यसैले जो–जोले आवेदन दिनुभएको छ उनीहरुले आफ्नो उमेर समूहका आधारमा खोप पाउने छन् । यसपटक खोप लगाउनका लागि लाइनमा बस्नु पर्दैन र यसअघिको भन्दा छिटो पनि हुनेछ ।
चीनबाट ल्याइने ४० लाख डोज भ्याक्सिन माथिल्लो उमेर समूहबाट तल्लो उमेर समूहमा लगाउँदै जाने योजना रहेको छ ।
चीनबाट ल्याउन लागेको भ्याक्सिन ५५ वर्षमाथिका उमेर समूहका नागरिकलाई मात्र पुग्ने अनुमान भएको समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।
प्रतिक्रिया