Pura Samachar

डेल्टासम्बन्धी गलत सूचना सामाजिक सञ्जालमा

प्रकाशित: July 12, 2021

डेल्टासम्बन्धी गलत सूचना सामाजिक सञ्जालमा

काठमाडौं : यतिबेला विश्वका अधिकांश देशमा संक्रामक रुपमा फैलिरहेको कोभिड-१९ को डेल्टा भेरियन्टलाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचनाहरु फैलिरहेका छन्।

नेपालसहित भारत, अमेरिका, युकेलगायतका देशमा संक्रामक रुपमा फैलिरहेको डेल्टा भेरियन्टलाई डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा सूचीकृत गरेको छ। तर, यही डेल्टा भेरियन्टलाई ‘फेक न्यूज’ भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचनाहरु फैलिरहेका छन्।

गत वर्ष अक्टोबरमा पहिलो पटक भारतमा डकुमेन्ट भएको डेल्टा भेरियन्ट विश्वका अधिकांश देशमा फैलिरहेको छ। पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा पुष्टि भइरहेका संक्रमणमध्ये आधाभन्दा बढी डेल्टा भेरियन्टका केसहरु रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकमा उल्लेख छ।

डब्लुएचओको तथ्यांकअनुसार हालसम्म विश्वका ९८ देशहरुमा डेल्टा भेरियन्ट पुष्टि भएका छन्।

तर, फेसबुकलगायतका सामाजिक सञ्जालमा ‘डेल्टा भेरियन्ट फेक न्यूज’ भन्ने गलत सूचनासहितका मिमहरु फैलिरहेका छन्। जुलाइ ५ मा पहिलोपटक ट्रम्प टकिङ नामको फेसबुक फ्यान पेजमा २०१७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स प्यासिफिक पार्टनरसिप सम्बन्धी एक्ज्युकिटिभ अडर साइन गर्दाको तश्विर प्रयोग गर्दै यस्तो ‘डेल्टा भेरियन्ट फेक न्यूज’ भनेर सार्वजनिक भएको छ।

हुन त यस तस्विरलाई लिएर मिथ्या सन्देशसहितका मिम बनेको यो पहिलो भने होइन। यसअघि पनि यही तस्विरलाई लिएर मिमहरु बनेका छन्।

यो मात्र होइन विश्वमा डेल्टा भेरियन्टको चिन्ता बढिरहँदा सार्वजनिक रुपमै नयाँ शब्द ‘कोभिडियोट’ उदाएको छ। कोभिड-१९ विरुद्ध भ्रम फैलाउने तथा हेलचेक्राइ गर्दै अगाडि बढ्नेहरु विरुद्ध यो शब्द प्रयोग भइरहेका छन्। यो शब्द डिक्सनेरीमा पनि प्रवेश पाएको छ। म्याकमिलान डिक्सनेरीले ‘कीभिडियोट’ लाई ‘कोभिड-१९ सम्बन्धी स्वास्थ्य सूझावलाई वेवास्ता गर्नेहरुलाई प्रयोग गर्ने अपमान जन्य शब्द’ भनेर अर्थाएको छ।

डेल्टा भेरियन्टसम्बन्धी गलत तथा भ्रामक सूचना फैलिँदै गर्दा अमेरिकी ट्वीटर प्रयोगकर्ताहरुले  #COVIDIOTS ट्रेन्ड चलाएका हुन्।

प्रतिक्रिया