
ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । असार ३० गते बिहान १० बजे उनी विशेष अदालतमा हाजिर भएर बयान दिएका छन् ।
गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको नामसमेत उल्लेख थियो ।
विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिएका हुन् । विशेष अदालतले यसअघि गच्छदारको सुनसरीस्थित घर ठेगानामा विशेष अदालतले म्याद तामेली गरेको थियो । तर उक्त ठेगानामा बसोबास नगर्ने पाएपछि विशेष अदालतले एक महिनाअगाडि अख्तियारमा अर्को ठेगाना भए पठाइदिन आग्रह गर्दै पत्र पठाएको थियो । पत्र अख्तियारले पत्र नपठाउँदै गच्छदार आँफै हाजिर हुन पुगेका हुन् ।
बिहान १० बजे विशेष अदालतमा हाजिर भएका गच्छदारको बयान सकिएको छ । यतिबेला गच्छदारलाई धरौटीमा छाड्ने कि थुनामा पठाउने भन्ने सम्बन्धमा थुनछेक बहस भइरहेको छ । गच्छदारविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि लामाे समय गच्छदारले म्याद बुझ्न आलटाल गरेका थिए । ललिता निवास प्रकरणमा आरोपित गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ताको करिब एक महिनापछि गच्छदारको म्याद स्थायी ठेगाना सुनसरी पठाइएको थियो । सुनसरी दुहवी नगरपालिका–२ स्थित उनको स्थायी ठेगानामा जिल्ला अदालत सुनसरीमार्फत म्याद पठाइएको हो । म्याद पठाएसँगै कोरोना कहर सुरु भएपछि अदालतका काम कारबाही केही समय बन्द भएका थिए ।
प्रतिक्रिया